चितवन राष्ट्रिय निकुञ्जको पचास हेक्टरमा नयाँ घाँसेमैदान
वि.सं.२०७९ कात्तिक २३ बुधवार १५:१७
shares

काठमाडौं, २३ कात्तिक । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७९/८० मा ५० हेक्टर क्षेत्रफलमा नयाँ घाँसेमैदान तयार गरिने भएको छ । दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, पाटेबाघ, हरिणलगायतका जनावरको संरक्षणका लागि यस वर्ष पनि निकुञ्जले घाँसेमैदानको कामलाई प्राथमिकता दिएको हो । यस वर्ष निकुञ्जले दुई सय २५ हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापनको काम गर्ने जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले घाँसेमैदान व्यवस्थापनका लागि बोलपत्र आह्वान भएर सम्झौताको चरणमा रहेको बताए । उनले निर्वाचनलगत्तै घाँसेमैदान व्यवस्थापनको काम सुरु गरिने जानकारी दिए । यस वर्ष नयाँ घाँसेमैदान निर्माणका लागि २५ लाख र व्यवस्थापनका लागि ३३ लाख बजेट विनियोजन भएको तिवारीले बताए । उनले बजेटअभावका कारण थोरै क्षेत्रफलमा मात्रै घाँसेमैदान निर्माण र व्यवस्थापनको काम गर्न लागिएको जानकारी दिए ।
निकुञ्जमा आर्थिक वर्ष २०७६/७७ मा छ सय हेक्टर क्षेत्रफलमा नयाँ घाँसेमैदान निर्माण र ५८ हेक्टरमा व्यवस्थापनको काम भएको थियो । यस्तै २०७७/७८ मा सात सय हेक्टरमा निर्माण र चार सय हेक्टरमा व्यवस्थापनको काम भएकामा आर्थिक वर्ष २०७८/७९ मा ५० हेक्टरमा नयाँ घाँसेमैदान निर्माण र तीन सय आठ हेक्टरमा व्यवस्थापनको काम भएको निकुञ्जले जनाएको छ ।
निकुञ्जभित्र घाँस प्रजातिले ढाकेको क्षेत्रलाई घाँसेमैदानका रुपमा लिइन्छ । निकुञ्जको नौ सय ५२ वर्गकिलोमिटर क्षेत्रफलमध्ये करिब १० प्रतिशत मात्रै घाँसेमैदान छ ।
‘निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रका घाँसेमैदानमा मुख्य घाँस प्रजातिमध्ये दुबो, काँस, सिरु, बरुवा, नर्कट, थमेडा, ढड्डी आदि पाइन्छन्”, आचार्यले भने, “निकुञ्जको घाँसेमैदानमा ५० भन्दा बढी प्रजातिका घाँस छन् जुन यहाँका वन्यजन्तुको मुख्य आहारसमेत हो ।”
निकुञ्जले यस आर्थिक वर्षमा पूर्वको सौराहा घाटदेखि पश्चिमको पुरानो टाइगर टप क्षेत्रसम्म घाँसेमैदान निर्माण र व्यवस्थापनको काम गर्ने जनाएको छ । घाँसेमैदान व्यवस्थापनअन्तर्गत अग्लो घाँस–ढड्डी काट्ने, आगो लगाएर जलाउने, जरासहित रूख हटाउने, स–साना पोथ्रा हटाउने, रूखको मुना हटाउनेजस्ता काम हुने आचार्यले बताए ।








