निर्वाचन नजिकिएसँगै सुरक्षा निगरानी थप चुस्त
वि.सं.२०७९ कात्तिक २३ बुधवार १२:३४
shares

काठमाडौँ, २३ कात्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब ११ दिन बाँकी छ । निर्वाचनको मतदान गर्ने मिति नजिकिएसँगै सुरक्षा निगरानीलाई थप चुस्त पारिएको छ । यसपटक निर्वाचन सुरक्षामा झन्डै तीन लाख सुरक्षाकर्मीहरु परिचालित छन् ।
तीन सुरक्षा निकायका एक लाख ८२ हजार सुरक्षा जनशक्तिका साथै एक लाख १५ हजार म्यादी प्रहरी परिचालित छन् । अहिले आवश्यकताका आधारमा धेरै सुरक्षाकर्मी निर्वाचन सुरक्षामा परिचालित भइसकेका गृह मन्त्रालयले जनाएको छ ।
मतदानस्थलको चुनौतीका आधारमा विश्लेषण गरेर निर्वाचन सुरक्षा चुस्त पारिएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।
मन्त्रालयले एकीकृत सुरक्षा योजना बनाएर तीन सुरक्षा घेरा निर्माण गरी निर्वाचनको विशेष सुरक्षा योजना तयार पारेको छ । जसमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना तैनाथ हुनेछन् ।
आ–आफ्नो सुरक्षा निकायलाई प्राप्त जिम्मेवारी पूरा गर्न तीनवटै सुरक्षा निकाय सक्रिय छ । सुरक्षा निकाय तल्लीनसाथ लागेको छ ।
निर्वाचन आयोगमा रहेको निर्वाचसम्बन्धी संयुक्त अपरेसन टोलीले समेत एकीकृत रुपमा काम गरिरहेको छ । त्यसका लागि नेपाल प्रहरीबाट एसएसपीको नेतृत्वमा नौजनाको समूह छ । सामाजिक सञ्जाल लगायतका विभिन्न क्षेत्रमा निगरानी गर्ने काम गरिरहेको छ ।
“समग्रमा यसपालिको निर्वाचनको सुरक्षा योजना राम्रो र भरपर्दाे छ, ढुक्कसँग मत दिने वातावरण छ”, नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले भने ।
उहाँका अनुसार यसपटक २८ साना समूहले चुनाव बहिष्कार गर्छौं भनेका छन् । ती समूहको सूक्ष्म निगरानी भइरहेको छ । “उनीहरुको समूह ठूलो छैन तर पनि त्यसको हामीले हरेक कोणबाट निगरानी गर्ने र उसका गतिविधिको सूक्ष्म विश्लेषण गरिरहेका छौँ”, उनले भने ।
प्रदेशगत रुपमा भेटेर छलफल गर्ने र सुरक्षाकर्मीको मनोबल बढाउने काम नेपाल प्रहरीका उच्च अधिकारीहरुबाट भइरहेको तथा आवश्यक निर्देशन दिइएको पनि उनले बताए ।
प्रवक्ता राईले भने, “हरेक निर्वाचनमा जहिले पनि सुरक्षाको चुनौती हुन्छ नै, तर चुनाव बिथोलिने अवस्था हुन्न, द्वन्द्वकालमा त चुनाव भएको थियो अहिले त सबै राजनीतिक पार्टीहरु चुनाव गराउन एक मत हुनुहुन्छ भने योपटक सुरक्षा चुनौती छ भन्न मिल्दैन ।”
नेपाल प्रहरी कहीँ कतै आकस्मिक घटना जहिले पनि हुनसक्छ भन्ने आङ्कलन गरेर त्यसको व्यवस्थापनका लागि नेपाल प्रहरी तयारीका साथ रहेको जनाइएको छ । अहिले आचारसंहिता पालनामा निर्वाचन आयोग आफैँ साक्रियताका साथ लागेकाले पनि थप सहज भएको प्रहरीको निष्कर्ष छ ।
यसपटकको निर्वाचनमा नेपाल प्रहीतर्फ ७१ हजार ६ सय ९३ जनशक्ति खटाइएको छ । त्यसका साथै एक लाख १५ हजार म्यादी प्रहरी छन् । काठमाडौँबाट यही २५ गतेसम्ममा झन्डै १२ हजार थप मद्दत विभिन्न प्रदेशमा पु¥याइन लागिएको छ ।








