सान्नीगाड जलविद्युत् आयोजना सात वर्षसम्म पनि मर्मत भएन

1.44K
shares
Krishi Bikas Bank

काठमाडौं, २० कात्तिक । कालीकोटको सान्नीगाड जलविद्युत् आयोजना पहिराले क्षति पुर्याएको सात वर्षसम्ममा पनि मर्मत हुन सकेको छैन ।

विसं २०७२ असार २ को राति सान्नीगाड खोलामा आएको बाढीले जलविद्युत्  केन्द्रमा क्षति पुर्याएको हो ।

जलविद्युत् आयोजनाको २०६५ सालदेखि सञ्चालनमा आएको थियो । विसं २०७२ को पहिरो क्षति पुर्याएको जलविद्युत् आयोजना करोडौं लगानी गरी कुलो मर्मत गरिए पनि सञ्चालनमा नआउँदै २०७६ साउन २ मा पुनःपहिरो गएको थियो ।

जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका र खाँडाचक्र नगरपालिकामा विद्युत् सेवा दिँदै आएको आयोजना बन्द भएपछि अहिले त्यहाका बस्ती विद्युत सेवाविहीन बनेका छन् । बिद्युत आयोजनाले दुई सय ५० किलोवाट विद्युत् उत्पादन गर्दै आएकोमा पहिराले क्षति पुर्याएपछि बन्द भएको नेपाल विद्युत् प्राविकरण कालीकोट वितरण केन्द्रका प्रमुख नारायण पौडेलले बताए ।

“पहिरो पन्छ्याएर आवश्यक मर्मत गरी उत्पादन थाल्न पुनः‘सर्भे रिपोर्ट’ र ‘लागत इस्टिमेट’सहित गत फागुनमा नेपाल विद्युत् प्राधिकरणमा पत्राचार गरिएको थियो”, उनले भने, “अहिलेसम्म त्यसको मर्मत तथा पुनःनिर्माणका लागि कुनै पहल भएको छैन ।”

सान्नीगाड जलविद्युत् आयोजना बन्द हुँदा त्यसको विकल्पका रुपमा २०७६ को कात्तिकदेखि विद्युत् वितरण केन्द्रले कालीकोटको खाडाँचक्र–३ ताडी बसपार्कमा जेनेरेटरमार्फत विद्युत् उत्पादन गरी झन्डै एक वर्ष सुविधा दिएको थियो । अहिले सदरमुकाम मान्ममा राष्ट्रिय प्रसारण लाइन पुगेका कारणले जेनेरेटर सेवा बन्द गरिएको केन्द्रका प्रमुख पौडेलले बताए ।

“सदरमुकाममा त राष्ट्रिय लाइन जोडिएको छ । अहिले यहीँबाट विद्युत् सेवा दिइरहेका छौँ”, उनले भने, “त्योसँगै ग्रामीण बस्तीमा विद्युतीकरण गर्ने कार्यक्रम भएकाले सान्नीगाड जलविद्युत् आयोजना मर्मतमा ध्यान नगएको होला ।”

जिल्ला सदरमुकाममा राष्ट्रिय प्रसारण लाइन जोडिएको भए पनि ग्रामीण बस्तीमा विद्युत्को पहुँच नभएकाले सान्नीगाड जलविद्युत् आयोजना मर्मतका लागि नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयमा गएर नै आफूले माग गरेको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहन केसीले जानकारी दिए । “विद्युत्गृहसम्म पुग्ने कुलो र मेसिन मर्मतको आवश्यकता रहेको छ”, उनले भने, “क्षमता विस्तारका लागि हामीले पहल थालेका छौँ ।”


Krishi Bikas Bank
franklin 1200*150