विदेशी पैसा आर्जनको स्रोत बन्दै अम्रिसो, पहिलो त्रैमासिकमा साढे १६ करोडको निर्यात
वि.सं.२०७९ कात्तिक १६ बुधवार १४:१८
shares

काठमाडौं, १६ कात्तिक । नेपालबाट चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा साढे १६ करोडभन्दा बढीको अम्रिसो निर्यात भएको छ । आर्थिक वर्षको सुरुको तीन महिनाको अवधिमा नेपालबाट १६ करोड ६१ लाख ३८ हजार रुपैयाँ बराबरको अम्रिसो निर्यात भएको हो ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब २ कारोडले बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा नेपालबाट १४ करोड ६६ लाख ७२ हजार रुपैयाँको अम्रिसो निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा करिब ४ करोड किलोग्राम बढी अम्रिसो निर्यात भएको विभागको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा २९ लाख ७६ हजार ५३० केजी अम्रिसो निर्यात भएको थियो । चालु आर्थिक वर्षको सुरुको तीन महिनामा भने ३३ लाख २६ हजार केजी निर्यात भएको छ ।
गत आर्थिक वर्षमा भने नेपालबाट ६९ करोड ९८ लाख ६२ हजार रुपैयाँ बराबरको अम्रिसो निर्यात भएको नेपाल कुचो संघका केन्द्रीय अध्यक्ष राज कुमार कार्कीले बताए । उनका अनुसार यो औपचारिक माध्यमबाट गएको मात्रै तथ्यांक हो । तर अनौपचारिक रुपमा अर्बको अम्रिसो निर्यात हुने गरेको छ ।
अहिले नयाँ अम्रिसो नआएकाले पहिलो त्रैमासिकमा निर्यात भएको जति सबै पुरानो स्टोर गरेर राखिएको सामान रहेको अध्यक्ष कार्कीले बताए । ‘माघदेखि मात्रै नयाँ अम्रिसो निकाल्न सुरु हुन्छ, त्यसपछि मात्रै नयाँ निर्यात हुने हो,’ उनले भने, ‘विगतको तुलनामा निर्यात बढेको छ, यसमा संघ स्थापना भएपछि गरिएका विभिन्न कार्यक्रम र प्रचार प्रसारले पनि भुमिका खेलेको छ ।’
अहिले नेपालबाट अर्ध प्रसोधित अम्रिसो विदेश पठाउने गरिएको छ । यसलाई पूर्ण प्रसोधन गरेर पठाउन सकेको खण्डमा अझ बढी रकम नेपाल भित्रिने अध्यक्ष कार्कीको भनाइ छ । ‘अहिलेसम्म अर्धप्रसोधित अम्रिसो नै निर्यात भइरहेको अवस्था छ, अब पूर्ण प्रसोधन गरेर पठाउने विषयमा सोच्नु पर्छ,’ अध्यक्ष कार्कीले भने ।
‘अलिहे ५० केजीको बण्डल बनाएर अर्ध प्रसोधित अम्रिसो निर्यात हुने गरेको छ, केही मात्रामा पूर्ण रुपमा कुचो बनेर जाने गरेको भए पनि त्यो निकै कम छ । अब पूर्ण कुचो निर्माण गरेर विदेशी पैसा नेपाल भित्र्याउने गरी संघ लाग्छ,’ उनले भने । पछिल्लो समय कुचोको आन्तरिक बजार पनि बढ्दै गएको उनको भनाइ छ ।
अघिल्लो वर्षसम्म ३० प्रतिशत खपत हुने आन्तरिक बजारमा अहिले करिब ५० प्रतिशत खपत हुने गरेको छ । जसबाट यो पेशामा आबद्ध भएका व्यवसायीहरु उत्साहीत बनेका छन् । ‘पहिलो ३० प्रतिशत आन्तरिक बजारमा खपत हुन्थ्यो ७० प्रतिशत निर्यात हुन्थ्यो, अहिले ५०–५० प्रतिशतको हाराहारीमा पुगेको छ,’ उनले भने ।
तिहारको समयमा नेपाली बजारमा कुचोको माग धान्नै मुस्किले भएको व्यवसायीहरुले बताउने गरेका छन् । यसबाट पनि अब पूर्ण प्रसोधन गरेर कुचो निर्माण गरेर बजारमा पठाउनु पर्ने आवश्यकतालाई बढाएको अध्यक्ष कार्कीले बताए । यसका लागि संघले पहल गर्ने र सरकारसँग समन्वय गरेर तालिमको व्यवस्था गरिने उनले भनाइ थियो ।
पछिल्लो समय सरकारले अम्रिसो निर्यातमा पनि अनुदान दिने व्यवस्था गरेकाले व्यवसायी र किसानहरु उत्साहित बनेका छन् । यसले गत आर्थिक वर्षको तुलनामा निर्यात बढ्ने अपेक्षा गरिएको छ । तर व्यवसायीले अनुदान पाउन भने नसकेको संघका अध्यक्ष कार्कीले बताए । सरकारले भारत बाहेक अन्य तेस्रो देश निर्यात गरे मात्रै अनुदान पाउने व्यवस्था गरेको छ । यस विषयमा पनि छलफल गर्नु पर्ने देखिएको कार्कीको भनाइ थियो ।
अध्यक्ष कार्कीले अम्रिसो खेती गर्नका लागि नै किसानलाई प्रोत्साहन गर्नु पर्ने बताउँदै आएका छन् । उनले कृषकलाई पनि अम्रिसो खेती गर्न उनले सुझाब दिए । अम्रिसो खेतीको सम्भावना देशभर नै भए पनि अहिले पूर्वी क्षेत्रमा यसको खेती हुँदै आएको छ । सबैभन्दा बढी अम्रिसो उत्पादन हुने जिल्ला इलामा हो । त्यो आसपासका जिल्लाहरुमा पनि अम्रिसो खेती हुने गरेको छ ।








