अर्थतन्त्र सुधार र नीतिगत परिवर्तनका लागि पहल गरिरहेका छौं: उपाध्यक्ष ढकाल

1.45K
shares
Krishi Bikas Bank

काठमाडौं, २९ फागुन । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले समस्यामा रहेको अर्थतन्त्रलाई सुधार गर्दै निजी क्षेत्रको पक्षमा नीतिगत परिवर्तनका लागि पहल गरिरहेको बताएका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६४ औँ साधारणसभा तथा अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको पदस्थापन कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उपाध्यक्ष ढकालले नीतिगत सुधार गर्दै निजी क्षेत्रमैत्री वातावरण बनाउन सकेमा अहिलेको संवेदनशील परिस्थितिबाट बाहिर निस्कन सकिने समेत बताए ।
ढकालले भने, “अहिलेको अवस्था निकै संवेदनशील अवस्था छ । यसलाई सबैको जित हुने गरी तार्किक निकर्षमा पुर्याउनुपर्ने अवस्था छ । व्यक्तिको भन्दा पनि हाम्रो एजेण्डाको जित हुनुपर्छ । निजी क्षेत्रको जित हुने गरी समस्याको समाधान गर्नुपर्नेछ । यसकालागि हामीले नेपाल राष्ट्र बैंक र नेपाल सरकारसँग बारम्बार कुरा गरिरहेका छौं । यसलाई निकर्षमा पुर्याउने गरी महासंघ लागिरहेको छ ।” बैंकको व्याजदरको कुराको सन्दर्भमा आफूहरुले राष्ट्र बैंकसँग बारम्बार छलफल गरिरहेको समेत बताएका छन् ।
उनले तिनवटै तहका सरकारहरु निजी क्षेत्रमैत्री बनेमा आर्थिक विकास र पूर्वाधार निर्माणका कार्यहरु द्रूतरुपमा अगाडि बढ्न सक्ने बताएका छन् । ढकालले खुल्ला सिमाका कारण भैरहवालगायत सिमाक्षेत्रका व्यवसायीहरु मर्कामा परेको र खुल्ला सिमामा हुने अनौपचारिक कारोबारलाई दुरुत्साहन गरी व्यवसायीहरुको संरक्षणका लागि आफूले पहल गर्ने समेत बताएका छन् ।


Krishi Bikas Bank
franklin 1200*150