कर्मचारीको सेवा निवृत हुने उमेर ६० वर्ष
वि.सं.२०७९ फागुन २४ बुधवार १४:३६
shares

काठमाडौं, २४ फागुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामति कर्मचारीको उमेर ६० वर्ष कायम हुने बताएका छन् । बुधबार मन्त्रालयमा पत्रकारसँगको छलफलमा मन्त्री मोदीले निजामती सेवा विधेयक छिट्टै पारित गर्ने गरी काम अघि बढेकाे भन्दै कर्मचारीको अवकाशको उमेर ६० वर्ष कायम गरिएको बताएका हुन् ।
निजामित सेवा विधयक २०७५ साल माघदेखि संसद्मा विचाराधीन रहेको छ । ‘अहिले मुख्य कुरा ५८ र ६० वर्षको उमेर हदको कुरा आएको छ । तपाइहरुलाई म के जानकारी गराउँछु भने ६० वर्षको उमेरमा जाने कुरा भएको छ,’ उनले भने । मन्त्रालयमा आएको छोटो समयमा आफू मन्त्रालयका विषयमा जानकारी लिने क्रममा नै रहेको उनको भनाइ थियो । निजामति ऐन कार्यान्वयमा आउनका लागि करिब ७ वर्ष लाग्ने भएकाले यो अहिले कार्यरत कर्मचारी भन्दा पनि नयाँ पुस्ताका लागि बनाउन लागिएको मन्त्री मोदीको भनाइ थियो ।
त्यस्तै आफू निजामति अस्पताललाई परिवर्तन गर्न लागिरहेको मन्त्री मोदीले बताए । यसका साथै ७ वटै प्रदेशमा निजामति अस्पतालत बनाउने विषयमा पनि काम भइरहेको उनको भनाइ थियो । निजामति अस्पतालमा शिक्षकहरुलाई पनि जोड्ने र राष्ट्रिय कलाकार र खेलाडीहरुलाई पनि सेवा दिने गरी काम भइरहेको पनि मन्त्री मोदीले जानकारी दिए । ‘तपाइहरुलाई के जानकारी गराउँ भने मेरो कार्यकालमा मन्त्रालयलाई पुरै परिमार्जन गर्ने तर्फ लागिरहेका छु,’ उनले भने ।
त्यस्तै मन्त्री मोदीले निजामती कर्मचारीको व्यवस्थित सरुवा प्रणाली आफ्नै कार्यकालमा सुरु गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।








