‘महासंघले सबै व्यवसायीलाई समेट्न आवश्यक छ’

2.18K
shares
Krishi Bikas Bank

काठमाडौं, ३ पुस । पछिल्लो समय देशको आर्थिक अवस्था निकै कमजोर बनेको र यसले अर्थतन्त्रमा निकै नकारात्मक प्रभाव पारिरहेको छ । कोभिडपछिको समयमा धेरै व्यवसायीहरु पलायन समेत भएका छन् । कोभिडपछि सुधार हुने आशामा रहेका व्यवसायीहरु पछिल्लो समय देखिएको आर्थिक मन्दीका कारण थप मारमा परेका छन् । कोभिडका कारण सबैभन्दा बढी समस्यामा परेको भनिएको होटल व्यववसायको पछिल्लो अवस्था र नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व कस्तो आउनु पर्छ भन्ने विषयमा केटिएम भ्वाइस डटकमले होटल व्यवसायी महासंघका अध्यक्ष हरिध्वज शाहसँग गरेको कुराकानीको सम्पादित अंश :

होटल व्यवसायको अवस्था कस्तो छ ?

होटल व्यवसायको अवस्थामा विस्तारै सुधार हुँदै गएको छ । कोभिडको समयको तुलनामा अहिले सुधार हुने अवस्था देखिएकको छ । कोभिडको समयमा निकै व्यवसायीहरु पलायन भइसकेको अवस्था छ । तर जति रहेका थिए उनीहरुले अहिले विस्तारै व्यवस्थापन गर्दै गएको अवस्था छ ।

कोभिडको समयमा ३० प्रतिशत व्यवसायी विस्तापित भए । उनीहरु फेरि फर्केर यो व्यवसायमा आएको अवस्था भने छैन् । विदेशी पर्यटकको आवागमन समेत बढीरहेको छ भने स्वदेशीहरुमा पनि घुम्ने परिपार्टी विकास भएकाले होटल व्यवसाय तंग्रिदै गरेको छ ।

अहिले नेपालमा आउने पर्यटकमा धेरै पर्यटक भारत र युरोप बाट आइरहेका छन् । कोभिड अघिको अवस्थामा पुग्न नसके पनि अहिले आशा गर्ने ठाउँ देखिएको छ । कोभिडको समयमा त व्यापार शुन्य नै थियो । अहिले ४० प्रतिशतसम्म व्यापार भइरहेको छ ।

कोभिडपछि पर्यटकको आवागमन पनि बढेको देखिन्छ व्यापार त राम्रो होला ?

अहिले व्यापार पनि बढेको छ । पर्यटक बढेसँगै व्यापार पनि राम्रो छ । व्यवसायीहरुले अहिले व्यवस्थापन गर्न सक्ने अवस्था सिर्जना भएको छ । व्यवसायीहरुले कर्मचारीलाई तलब खुवान समेत समस्या भएको थियो । तर अहिले त्यस्तो अवस्था छैन् । उनीहरुले कर्मचारीलाई तलब दिने देखि कार्यालयको भाडा तिर्नका लागि गारो नभएको बताएका छन् ।

कोभिडका कारण २० देखि ३० प्रतिशत व्यवसायी विस्तापित भएको अवस्था छ । तर व्यवसायमा रहेकाहरु भने अहिले सुधारको अवस्थामा देखिएका छन् । विस्तापित भएकाहरु फर्किन नसके पनि यो पेसामा नै रहेकाहरु भने भाग्नु अवस्था छैन । व्यवसायीहरुले अरुको घर भाडामा लिएर व्यवसाय सञ्चालन गरेको अवस्थामा बैंकहरुले त्यो व्यवसायलाई धितोका रुपमा नलिएकाले पनि समस्या भोग्नु परेको छ । व्यवसायलाई नै धितोका रुपमा राख्न पाउने व्यवस्था गरेको खण्डमा अझ सहज हुने थियो ।

पर्यटकको आवागमन कस्तो छ अहिले ?

अहिले ग्राहकको आवागमन सुधार भएको अवस्था छ । होटलहरुमा आउने पर्यटकको संख्या विस्तारै बढ्दै गएको छ । अहिले युरोप र भारतबाट आउने पर्यटकको संख्या बढी रहेको छ । तर चिन तर्फबाट आउने पर्यटक भने आउन नसकेको अवस्था छ । यताबाट पनि पर्यटक आउन थाले पनि अझ सहज हुन्छ ।

होटलहरुमा आन्तरिक र बाह्य पर्यटकको संख्या निकै देखिन्छ । अब आर्थिक अवस्थामा पनि विस्तारै सुधार हुँदै गएको खण्डमा अझ यो क्षेत्र चलायमान हुने देखिन्छ । अहिले पोखरा, चितवन लगायत क्षेत्रका होटहरुमा ग्राहकको संख्या उल्लेख्य नै रहेको छ ।

होटल व्यवसायीहरुका समस्या के–के छन् ?

होटल व्यवसायीका धेरै समस्याहरु रहेका छन् । जसमा धेरै ठाउँमा कर तिर्नु पर्ने, व्यवसायलाई धितोका रुपमा प्रयोग गर्न नपाउने तथा दक्ष जनशक्ति अभाव पनि समस्याका रुपमा रहेकोा छ । त्यस्तै साना तथा मझौला व्यवसायीहरुलाई तालिमको पनि खाँचो रहेको छ ।

तालिम प्राप्त गरेको खण्डमा साना व्यवसायीहरु स्वरोजगार हुनुका साथै केही व्यक्तिहरुलाई रोजगारी पनि दिन सक्छन् । यस विषयमा पर्यटन बोर्ड तथा मन्त्रालयलसँग पनि कुराकानी भइरहेको छ । यदि यो गर्न सकियो भने व्यवसायलाई अझ बढाउन सकिन्छ ।

एकद्धारा प्रणालीबाट कर तिर्ने व्यवस्था गर्नु पर्ने, तालिमको आयोजना गर्ने र सहुलियत पूर्ण ऋणको व्यवस्था गर्न सकेको खण्डमा यो व्यवसायमा लागेकाहरुलाई अझ प्रात्साहन हुने थियो ।

जनशक्तिको व्यवस्थापन कसरी गर्नु भएको छ ?

होटल व्यवसायमा दक्ष जनशक्ति अभाव रहेको छ । होटलमा पारिश्रमिक कम हुने भएकाले तालिम दिएर राख्दा पनि उनीहरुलाई लामो समय टिकाउन समस्या हुने गरेको छ । धेरै पारिश्रमिकको लोभमा यो क्षेत्रबाट श्रमिकहरु विदेश जाने क्रम बढेको छ ।

कामदार छन उनीहरु रोजगारीका लागि विदेश गइहाल्छन् । किन की त्यहाँ पारिश्रमिक बढी छ । उनीहरुलाई हामीले विदेश नजानका लागि रोक्न सक्ने अवस्था पनि छैन् । होटल व्यवसायबाट ६ लाख जना रोजगारीमा जोडिएका छन् । तर उनीहरुलाई नेपालमा रोक्नका लागि समस्या भइरहेको छ ।

अब नेपाल उद्योग वाणिज्य महासंघको चुनाव आउँदै छ महासंघमा कस्तो नेतृत्व आउनु पर्छ ?

महासंघ भनेको सबै व्यवसायीहरुको छाता संगठन हो । जसका कारण महासंघमा जाने नेतृत्व पनि सबैलाई समेटन सक्ने हुनु पर्छ । साना देखि ठूला सबै व्यवसायीलाई समेटेर अघि बढ्न सक्ने नेतृत्व आउनु पर्छ । व्यवसायीको हक हितका लागि काम गर्ने किसिमको नेतृत्व आजको आवश्यकता हो ।

पछिल्लो समय ठूला व्यवसायीहरुको विषयमा मात्रै कुरा हुने गरेको छ । त्यस्तो हुनु भएन् । यस तर्फ महासंघको नेतृत्वमा जानेहरुले सोच्नु पर्ने देखिन्छ । अहिलेको नेतृत्वले गरेकोभन्दा पनि अझ सशक्त रुपमा काम गर्न सक्ने नेतृत्वको खाँचो रहेको छ ।

राज्यसँग होटल व्यवसायीहरुको अपेक्षा के छ ?

बैंकहरुले होटल व्यवसायलाई नै धितोका रुपमा लिने गरेका छैनन् । यसले गर्दा गाउँघरबाट आएर होटल गर्नेहरुलाई निकै समस्या भइरहेको छ । बैंकले व्यवसायीसँग लालपुर्जा माग्ने गरेका छन् । उनीहरुको लालपुर्जा गाउँमा हुने कारणले समस्या भएको छ । यसका लागि सरकारले व्यवसायीहरुलाई व्यवसायलाई नै धिताका रुपमा राख्ने व्यवस्था गरेको खण्डमा सहज हुने थियो ।

अर्को तर्फ उपत्यका बारिहका व्यवसायीहरुलाई तालिमको नै अभाव रहेको छ । उनीहरुलाई विभिन्न समयमा तालिमको आयोजना गरेको खण्डमा अझ सहज हुने थियो । व्यवसायीलाई सहज हुने नीतिहरु निर्माण गर्ने र व्यवसायीलाई प्रात्साहन हुने किसिमका कार्यक्रमहरु ल्याउनु पर्ने आवश्यकता छ ।


Krishi Bikas Bank
franklin 1200*150