धानमा लागेन दाना, किसान चिन्तित

2.33K
shares
Krishi Bikas Bank

काठमाडौं, १७ कात्तिक । पाक्ने बेला हुँदा पनि धानमा दाना नलागेपछि यहाँका किसान चिन्तित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१४ हुल्काङमा लगाइएको धानमा दाना नलागेको हो ।

स्थानीय बजारका एग्रोभेट पसलबाट ‘युएस ३१२’ जातको हाइब्रिड धानको बीउ लगेर रोपेको स्थानीय कृषक टेकप्रसाद डुम्रेले बताए । विगत दुई तीन वर्षदेखि यही जातको धान लगाउँदै आए पनि अरु बेला उत्पादन राम्रो भएको तर यसपटक धानमा दानानै नलागेको हो । “विगतमा पनि यही धान लगाउँदै आएको थिएँ, यसपटक पनि यही धानको बीउ ल्याएर ब्याड राखी धान रोपेको हुँ”, उनले भने, “यसपटक त के भयो–भयो, पराल हरियै छ तर धान पसाएर नुग्ने बेलामा नुग्दै नुगेन ।”

डुम्रेले सात रोपनी क्षेत्रफलमा लगाउनुभएको धानखेतीमा दाना नै नलागेको हो । मानो खाएर मुरी उब्जाउने समयमा धानमा दाना नलागेर कालै भएपछि उनि चिन्तामा छन । “धान ठटाउनै पर्दैन, पराल हरियै छ, बल्ने भए आगो लगाइदिन्थे”, उनले भने, “विगत वर्षहरुमा यही क्षेत्रफलमा १४–१५ मुरी धान उत्पादन हुन्थ्यो, यसपटक त मेहनत, परिश्रम, लगानी सबै माटोमै मिल्यो ।”

यस ठाउँमा डुम्रेको सात रोपनी र अन्य तीन जना कृषकको दश रोपनी गरी कूल १७ रोपनी क्षेत्रफलमा लगाइएको धानमा दाना नलागेको वालिङ नगरपालिकाका कृषि प्राविधिक केशबहादुर थापाले बताए । कृषकले धानमा दाना नलागेको भन्ने खबर गरेपछि खेतमै पुगेर अनुगमन तथा निरीक्षण गरेर फर्किएको उनले बताए । “यो ठाउँमा अन्य कृषकले लगाएको उही जातको धान राम्रो फलेको छ तर चार कृषकको खेतमा लगाइएको धानमा दाना नै छैन”, उहाँले भन्नुभयो, “यो अन्य कारणले भन्दा पनि धान पसाएर फूल खेल्ने बेलामा परेको अविरल वर्षाका कारण क्षति भएको हो ।”

‘युएस ३१२’ जातको हाइब्रिड धान यस ठाउँका लागि उपयुक्त भए पनि ढिलो रोपेकाले पनि समस्या देखिएको उनको दाबी छ । केही दिनअघि रोपिएको खेतमा धान राम्रो भएको तर ढिलो रोपिएको साथै फूल खेल्ने बेलामा चार÷पाँच दिनको अविरल वर्षा मुख्य कारण भएको उनि बताउछन ।


Krishi Bikas Bank
franklin 1200*150