राष्ट्र बैंकद्वारा वाणिज्य बैंकलाई टोल शुल्क संकलनका लागि आरएफआइडी सुविधा दिने नयाँ व्यवस्था

132
shares
Krishi Bikas Bank

काठमाडौं, ३ वैशाख । नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरूलाई सडक उपभोग दस्तुर (टोल शुल्क) संकलनका लागि विशेष सुविधा प्रदान गर्ने नयाँ व्यवस्था गरेको छ। हालै जारी गरिएको ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२’ मार्फत केन्द्रीय बैंकले यस्तो प्रावधान लागू गरेको हो।

नयाँ निर्देशनअनुसार अब अनुमति प्राप्त वाणिज्य बैंकहरूले नेपाल सरकारले तोकेका सडक तथा सडक खण्डहरूमा सञ्चालन हुने सवारी साधनबाट सडक उपभोग दस्तुर संकलन गर्नका लागि रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन आरएफआइडी ट्याग वा कार्ड जारी गर्न सक्नेछन्।

यस व्यवस्थाअनुसार सवारीधनीले बैंकबाट प्रिपेड आरएफआइडी ट्याग वा कार्ड प्राप्त गरी आफ्नो सवारी साधनमा जडान गरेपछि टोल प्लाजामा रोकिएर शुल्क तिर्नुपर्ने छैन। सवारी साधन टोल प्लाजा हुँदै गुज्रँदा स्वचालित रूपमा दस्तुर कटौती हुने व्यवस्था हुनेछ।

यस प्रणाली लागू भएपछि टोलमा लामो समय लाइन बस्नुपर्ने झन्झट अन्त्य हुने अपेक्षा गरिएको छ।

डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै सार्वजनिक सेवालाई प्रविधिमैत्री बनाउने सरकारको नीतिअनुसार राष्ट्र बैंकले यो व्यवस्था लागू गरेको हो। यसले यातायात व्यवस्थापन सहज बनाउने र टोल संकलन प्रणालीलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ।


Krishi Bikas Bank
franklin 1200*150