ललितपुरका नागरिकलाई कोरोनाको दोस्रो बुष्टर डोज दिइदै
वि.सं.२०७९ चैत ७ मंगलवार २०:०८
shares

काठमाडौं, ७ चैत । स्वास्थ्य कार्यालय ललितपुरले कोरोना रोग विरुद्धको बुष्टर डोजको दोस्रो मात्रा पनि लगाउने भएको छ । कार्यालयले आगामी बिहीबार र शुक्रबार दुईदिन जिल्लाका ६ वटै स्थानीय तहका सबै वडाका जोखिम समूह पहिचान गरेर फाइजर–बायोएनटेक भ्यालेण्ट एडल्ट बुष्टर डोज दिन लागेको हो ।
जिल्लाका ६ वटै स्थानीय तहका ५५ वर्षमाथिका नागरिकलाई बुष्टर डोजको दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य कार्यालय ललितपुरका वरिष्ठ जनस्वास्थ्य प्रशासक तथा प्रमुख सतिस विष्टले जानकारी दिए । यस्तै अभियानमा फ्रन्टलाइनर स्वास्थ्यकर्मी, गर्भवती महिला र दीर्घ रोग भएका १२ वर्षमाथिका नागरिकलाई पहिलो चरणमा खोप लगाइने छ ।
‘पहिलो चरणमा ९ र १० गते ३१ हजार खोप लगाउनका लागि सबै स्थानीय तह अनुसारको विवरण व्यवस्था मिलाइएको छ,’ उनले भने । उनका अनुसार ललितपुर महानगरपालिकामा १५ हजार, महालक्ष्मी नगरपालिकामा ५ हजार ७२४, गोदावरी नगरपालिकामा ३ हजार १८८, महांकाल गाउँपालिकामा ८८६, कोन्ज्योसोम गाउँपालिकामा ७४९ र बागमतीमा ४९० जनालाई फाइजर–बायोएनटेक भ्यालेन्ट एडल्ट बुस्टर डोज खोप लगाइने छ ।
जिल्लामा ६४ हजारलाई बुस्टर डोज दिनुपर्ने प्रारम्भिक आँकडा रहेको विस्टले बताए । ५५ वर्ष माथिका सवै नागरिकहरूलाई पहिलो बुष्टर नलगाएकाहरूलाई पहिलो बुष्टर र पहिलो बुष्टर लगाएर ६ महिना पुगेकालाई दोस्रो बुष्टर मात्रा दिने उनको भनाइ छ ।
‘जिल्लामा प्रचारात्मक रुपमा लगाइने खोप कार्यक्रम प्रभावकारी भएपछि थप खोप माग गछौंँ खोपका लागि सबै स्थानीय सरकार तयार रहेको, जोखिममा परेका समूह पहिचान गरेर बुष्टर दोस्रो मात्रा दिन लागिएको हो,’ विस्टले भने । महांकाल गाउँपालिकाले भने नियमित खोप कार्यक्रममा सहभागी गराउनेगरी १०, ११ र १२ गते बुष्टर डोज कार्यक्रम सञ्चालन हुने छ ।








