प्रभु स्मार्ट फण्डमा आवेदन दिन आज अन्तिम दिन
वि.सं.२०७९ फागुन २८ आइतवार ०९:२३
shares

काठमाडौं, २८ फागुन । प्रभु क्यापिटलले निष्काशन तथा बिक्री खुला गरेको प्रभु स्मार्ट फण्डमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । क्यापिटलले फागुन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको फण्डमा आज साँझसम्म आवेदन दिन सकिने छ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका ८ करोड इकाई निष्काशन गरेको छ । कम्पनीले निष्काशन गरेको इकाइमध्ये १४ प्रतिशत वा १ करोड १२ लाख इकाई कोष प्रबर्द्धक प्रभु बैंक लिमिटेडलाई सुरक्षित राखिएको छ । १ प्रतिशत वा ८ लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडलाई सुरक्षित राखिएको छ । सर्वसाधारणले बाँकी ६ करोड ८० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ८० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्ड एक बन्दमुखि योजना हो । योजनाको कुल आकार ८० करोड रुपैयाँ रहेको छ । यस निष्काशनमा न्यूनतम ४ करोड इकाई बिक्री हुनु पर्नेछ। सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गरिने क्यापिटलले जनाएको छ ।
फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।








