एक रातको तरलता ब्याजदर घट्यो

1.43K
shares
Krishi Bikas Bank

काठमाडौं, २७ माघ । नेपाल राष्ट्र बैंकले ‘ओभरनाइट’ तरलता सुविधाको ब्याज घटाएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ओभरनाइट तरलताको ब्याजदर १.५ प्रतिशतले घटाएको हो । यसअघि बैंकहरूले ८.५ प्रतिशतको ब्याजदरमा पाउँदै आएको ओभरनाइट तरलता सुविधा अब ७ प्रतिशतमा पाउने भएका हुन् ।

‘बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतको बैंक दरमा यस बैंकले उपलब्ध गराउँदै आएको दैनिक तरलता सुविधाअन्तर्गतको ओभरनाइट तरलता सुविधा सात प्रतिशतको नीतिगत दरमा उपलब्ध हुने व्यवस्था मिलाइनेछ,’ समीक्षामा भनिएको छ । राष्ट्र बैंकको घोषणा एकीकृत निर्देशन जारी गरेपछि कार्यान्वयनमा आउँनेछ । अन्य कुनै नीतिगत दरहरूलाई नचलाएको केन्द्रीय बैंकले दैनिक तरलता सुविधाअन्तगर्तको ओभरनाइट तरलता सुविधा भने नीतिगत दरमा उपलब्ध गराउने उल्लेख छ ।

ओभरनाइट तरलता सुविधा भन्नाले संस्थाले उपयोग गरेको दैनिक तरलता सुविधामध्ये सोही दिनको तोकिएको समयसीमाभित्र राफसाफ हुन बाँकी रहेको रकम तोकिएको ब्याजदरमा ओभरनाइट अवधिका लागि राष्ट्र बैंकबाट उपलब्ध गराइएको सुविधालाई जनाउँछ ।


Krishi Bikas Bank
franklin 1200*150