हवाइ भाडा घटाउन पर्यटनमन्त्रीलाई परिसंघको आग्रह
वि.सं.२०७९ माघ २१ शनिवार १५:१७
shares

काठमाडौं, २१ माघ । नेपाल उद्योग परिसंघले हवाइ भाडा घटाउन संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसँग आग्रह गरेको छ । परिसंघको तर्फबाट मन्त्री किरातीलाई बधाइ दिन पुगेको टोलिले हवाइ भाडा घटाएर नेपालको पर्यटन उद्योगलाई प्रतिस्पर्धी बनाउन आग्रह गरेको हो ।
परिसंघले नेपालको हवाई भाडा अत्यन्त महङगो हुँदा नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य हुँदाहुँदै पनि अपेक्षाकृत रुपमा विदेशी पर्यटकहरु आउन नसकिरहेको भन्दै भाडा कम गर्नका लागि मन्त्रीलाई आग्रह गरेको छ । परिसंघका उपाध्यक्ष राजबहादुर शाहले पर्यटन उद्योगको विकासका लागि हवाइ भाडा कम गर्नु पर्ने आवश्यकता रहेको विषयमा मन्त्री किरातीलाई जानकारी दिएका थिए । त्यसका साथै परिसंघले हवाई भाडा घटाउनेतर्फ आवश्यक पहल गर्न, राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमलाई प्रतिस्पर्धी बनाउन, यूरोपियन यूनियनले नेपाललाई राखेको सुुरक्षा सूचीबाट हटाउन आवश्यक पहल गर्न समेत मन्त्री किरातीलाई अनुरोध गरेको थियो ।
परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले नेपाल उद्योग परिसंघले सरकारसँग मिलेर अर्थतन्त्रको विकास विस्तारमा काम गर्दै आईरहेको भन्दै पर्यटन उद्योगको विकासका लागि पनि सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको बताएका थिए । परिसंघ पर्यटन समिति सभापति पम्फा धमलाले पर्यटन उद्योगलाई अन्य उद्योग सरह पाउने सुविधा दिन आग्रह गरिन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सफल रुपमा संचालनका लागि हवाई रुटको अभावमा चुनौती देखा परेको सन्दर्भमा यो समस्या समाधानका लागि पनि आवश्यक पहल गर्नका लागि मन्त्री किरातीलाई व्यवसायीहरुले आग्रह गरेका छन् ।
परिसंघको सुझाव ग्रहण गर्दै मन्त्री किरातीले नीतिगत सुधारका विषयमा निजी क्षेत्रबाट स्पष्ट सुझावको अपेक्षा गरेको भन्दै सुझाव अनुसार नै काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।








