शेयर बजारमा ८८ अंकको गिरावट, परिसूचक २०९४ विन्दुमा
वि.सं.२०७९ माघ २१ शनिवार १०:१३
shares

काठमाडौं, २१ माघ । शेयर बजार परिसूचकमा यो साता भारी गिरावट आएको छ । हप्ताको पाँच दिनको कारोबारमध्ये ४ कारोबार दिनमा घटेको शेयर बजार साताभरमा ८८ दशमवल ६७ अंकले घटेको हो ।
गत हप्ता २१८३ दशमवल २१ विन्दुमा कारोबार बन्द भएको शेयर बजार यो हप्ता भने २०९४ दशवल ५४ विन्दुमा पुगेको छ । यो गत हप्ताकोभन्दा ४.०६ प्रतिशतको गिरावट हो । यस साता सेन्सेटिभ इन्डेक्समा पनि दोहोरो अंकको गिरावट आएको छ । यो साता सेन्सेटिभ इन्डेक्स १४.७७ अंक घटेको छ । त्यस्तै फ्लोट इन्डेक्स ६.२३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ४.७६ अंक घटेको छ ।
यो हप्ता दैनिक औषत कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औषतमा ३ अर्ब ३० करोडको कारोबार भएकोमा यस साता दैनिक औषतमा २ अर्ब ६० करोडको कारोबार भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २१.१३ प्रतिशत घटेको हो । त्यसैगरी, यस साता दैनिक औषत शेयर संख्या २१.६९ प्रतिशतले गिरावट आएको छ भने दैनिक औषत कारोबार संख्यामा पनि १२.८९ प्रतिशतले कमी आएको छ ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण् समेत ४ प्रतिशत घटेको छ । गत साता ३१ खर्ब ५० अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण यो हप्ता १ खर्ब २७ अर्ब रुपैयाँ घटेर ३० खर्ब २२ अर्बमा झरेको छ ।
यो साता १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये लगानी उपसमूहको परिसूचक सर्वाधिक ७.२५ प्रतिशत घटेको छ । गत साता ६९.३७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ५.०३ अंक घटेर ६४.३४ विन्दुमा झरेको छ । त्यसैगरी, यस साता सबैभन्दा कम उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २.१६ प्रतिशत घटेको छ । गत साता ५२३९.७६ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ११३.३७ अंक घटेर ५१२६.३९ विन्दुमा झरेको छ ।
बजार घटेपनि आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ६१.०२ प्रतिशत बढेको छ । त्यसैगरी, यस साता लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य २८.२५ प्रतिशत बढेको छ भने सयपत्री हाइड्रोपावरको शेयरमूल्य १२.०५ प्रतिशत बढेको छ । यस साता सगरमाथा इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक १६.५३ प्रतिशत घटेको छ भने कालिका लघुवित्त वित्तीय संस्था, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था, रिडी पावर कम्पनी र समृद्धि फाइनान्स कम्पनीको शेयरमूल्य ११ प्रतिशतभन्दा बढी घटेको छ ।








