बैंकको ‘दादागिरी’ भएको भन्दै आन्दोलन घोषणा, कटुवाल बने संयोजक
वि.सं.२०७९ माघ २१ शनिवार ०९:२२
shares

काठमाडौं, २० माघ । बैंकको दादागिरी र निश्चित उद्योगी व्यवसायीको सिन्डिकेट भएको भन्दै साना तथा मझौला वर्गका उद्योगी व्यवसायीहरुले आन्दोलन गर्ने भएका छन् । वृहत आन्दोलनको नाम दिएर व्यवसायीहरुले संघर्ष समिति नै बनाएका छन् । जसको संयोजकमा नरेश कटुवाल तोकिएका छन् । कटुवाल तिनै व्यक्ति हुन्, जो नेपाल राष्ट्रिय व्यवसायी महासंघको अध्यक्ष हुँदा सडक संघर्षको अभियान नै चलाएका थिए ।
व्यवसायीहरुले गत माघ १६ गते माइतीघरमा विरोध प्रदर्शन गरेका थिए । व्यवसायीहरुले अब योभन्दा पनि कडा आन्दोलन गर्ने निर्णय गरेको संयोजक कटुवालले जानकारी दिए । यो संघर्ष समितिका कम्तिमा पनि ५ हजार सदस्य रहने कटुवालले जानकारी दिए । शुक्रबारको बैठकमा विभिन्न ११ वटा महासंघ र ३६ वटा संगठनको सहभागिता रहेको थियो ।
बैठकले बैंकले ब्याजदर बढाएर दादागिरी गरेको तथा दलाल पुँजीबाद र निश्चित सामन्तले देशको अर्थतन्त्र चलाएको आरोप लगाउदै त्यसको भण्डाफार गर्ने लगायतका आन्दोलनका कार्यक्रमहरु तय गरेको संयोजक कटुवालले बताए । ‘यो राष्ट्रिय आन्दोलन हो । यो सिमित उद्योगी व्यवसायीको सिन्डिकेटको विरुद्धको आन्दोलन हो । यसबाट धेरैको पत्ता साफ हुन्छ,’ उनले भने ।
शुक्रबार नै ४० वटा संगठनहरु आन्दोलनमा सहभागि भइसकेको र अरु पनि सहभागि हुने क्रममा रहेको उनले जानकारी दिए । सबै संगठन र महासंघका अध्यक्ष संघर्ष समितको सदस्य रहने र अन्य व्यक्तिहरुलाई पनि स्वतःस्फूर्त रुपमा सदस्य बन्न मिल्ने भएकाले आन्दोलन बृहत हुने संयोजक कटुवालको दाबी छ । विभिन्न माग गरेर चरणबद्ध आन्दोलन गर्ने गरी देश भरका सबै व्यवसायीका संघ संगठनलाई समेटेर आन्दोलन गर्ने हुने उनको भनाइ छ ।
उद्योग र व्यवसायीमा रहेको सिन्डिकेटको अन्त्य र जुन मानिस उद्योगी हो । जो वास्तविक उद्योगी हो त्यसको पहिचान गर्नका लागि पनि यो आन्दोलन महत्वपूर्ण हुने उनको भनइ छ । ‘अहिलेसम्मको अतर्थतन्त्र निश्चित घरानाले चलाएको अवस्था हो, मुठ्ठी भरका मानिसले अर्थतन्त्रलाई घुमाएका छन् यो उनीहरुका विरुद्धको आन्दोलन हो,’ कटुवालले भने । स्वदेशमा नै उद्योग गरेर आत्मनिभर हुनु पर्छ र आर्थिक रुपमा सक्षम बन्नु पर्छ भन्ने तर्फ यो आन्दोलन केन्द्रित हुने उनले बताए । यसल धेरैलाई असर पार्ने सक्ने र आन्दोलनको सुरुवात भइसकेको उनको भनाइ छ ।








