सिर्सिया भन्सारद्वारा लक्ष्यको ६७ प्रतिशत राजस्व सङ्कलन

1.39K
shares
Krishi Bikas Bank

काठमाडौं, ११ माघ । मुलुकको तेस्रो ठूलो भन्सार पर्साको वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० को छ महिनामा लक्ष्यको ६७ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा रु ३२ अर्ब तीन करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु २१ अर्ब ५१ करोड राजस्व सङ्कलन भएको सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत सन्तोषकुमार न्यौपाने जानकारी दिए । कार्यालयको चालु आवमा रु ६७ अर्ब ४३ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य छ ।

सो भन्सार कार्यालयले आव २०७८/७९ मा लक्ष्यको ९४ दशमलव ९८ प्रतिशत र आव २०७७/७८ मा लक्ष्यको ९६ दशमलव ४० प्रतिशत राजस्व सङ्कलन गरेको थियो । चालु आवमा लक्ष्यअनुसार राजस्व सङ्कलन हुने सम्भावना कम रहेको न्यौपानेको भनाइ छ ।

समग्रमा आयात घट्नु, राजस्वमा बढी योगदान गर्ने वस्तु मदिराको आयातमा प्रतिबन्ध र तयारी वस्तु, बिस्कुट, चकलेटजस्ता वस्तुको आयात घट्दा राजस्व सङ्कलन प्रभावित भएको उनी बताउछन् ।

गत आवभन्दा चालु आवको राजस्व सङ्कलन लक्ष्य बढी भएको र आयात घटेकाले राजस्व सङ्कलन प्रभावित भएको भन्सारका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले बताए ।

यसबाहेक कतिपय वस्तुको आयातमा प्रतिबन्ध तथा एलसी खोल्नमा कडाइ गरिएकाले राजस्व सङ्कलन घटेको उनको भनाइ छ ।

सरकारले मदिरा, मोबाइल, गाडीको आयात खुला गरे पनि आयातकर्ताले एलसी खोलेर आयात गर्न अझै समय लाग्ने भएकाले आगामी दुई महिना यस्तै अवस्था रहने भण्डारी बताउछन् ।


Krishi Bikas Bank
franklin 1200*150