‘उत्पादन बढेकाले अलैँचीको मूल्यमा केही गिरावट आयो, आत्तिनु पर्ने अवस्था भने छैन’

1.79K
shares
Krishi Bikas Bank

काठमाडौं, १० पुस । नेपालको तत्कालिन पूर्वाञ्चल विकास क्षेत्र अहिलेको प्रदेश नम्बर १ का पहाडी जिल्लाबाट खेती सुरु भएको अलैँची खेतीबाट सुरुमा किसानले निकै लाभ लिएका थिए । पछिल्लो समयमा केही कमी आएको भएपनि अलैँची खेतीबाट किसाले लाभ लिएका नै छन् । कालो हिराका रुपमा हेरिएको अलैँचीको पछिल्लो सयको व्यापार र उत्पादनको अवस्था के कस्तो छ ? नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वका विषयमा केन्द्रित रहेर नेपाल अलैँची व्यवसायी संघका अध्यक्ष निर्मल भट्टराईसँग केटिएम भ्वाइसले गरेको कुराकानीको सम्पादित अंश :

पछिल्लो समय नेपालमा अलैँचीको व्यापार कस्तो छ ?

अहिलेको अवस्थामा अलैँचीको मूल्यमा गिरावट आएको छ । जसले यो व्यवसायमा लागेका किसान र व्यवसायीहरु चिन्तित बनेको अवस्था छ । पछिल्लो समय उत्पादन बढेका कारण पनि मूल्यमा ह्रास आएको हो । अर्को तर्फ अघिल्लो वर्षको अलैँची पनि भण्डारण गरेर राखिएका कारण पनि अहिले मूल्यमा गिरावट आएको अवस्था छ ।

अघिल्लो वर्ष प्रतिमन ५० हजारको रुपैयाँमा बिक्री भएको अलैँची यो वर्ष भने २५ हजारमा बिक्री भइरहेको छ । यो भनेको गत वर्षको तुलनामा ५० प्रतिशत नै मूल्यमा गिरावट आएको देखिएको छ । यो वर्ष उत्पादन ३० देखि ४० प्रतिशतले बढेको छ तर मूल्य ५० प्रतिशतले घटेको छ । जसले उद्योगी र किसानलाई केही मार परिरहेको छ ।

अहिले पनि उद्योगीहरुले गत वर्षकै अलैँची पनि स्टक गरेर राखेको अवस्था छ । यो वर्ष उत्पादन बढ्दा मूल्यमा गिरावट आएको हो । तर आत्तिनु पर्ने अवस्था भने रहेको छैन ।

सुरुवातामा निकै राम्रो उत्पादन भइरहेको थियो तर पछिल्लो समय उत्पादनमा ह्रास आएको भनिन्छ कारण के होला ?

समग्र रुपमा उत्पादनमा ह्रास आएको छैन् । सुरुवातको अवस्थामा भन्दा केही ह्रास आएको भए पनि केही निश्चित स्थानमा त्यस्तो भयो होला तर समग्रमा भने त्यस्तो अवस्था देखिदैन् । पछिल्लो समय अलैँचीको खेती विस्तार भएका कारणले पनि समग्रमा उत्पादन बढेको अवस्था छ । यो वर्ष मात्रै अघिल्लो वर्षको तुलनामा उत्पादनमा वृद्धि भएको देखिएको छ । अघिल्लो वर्ष ५ हजार ५०० मेट्रिकटन उत्पादन भएको थियो । यो वर्ष ७ हजार ५०० मेट्रिकटन उत्पादन हुने अनुमान गरिएको छ । तर अहिले नै पुरा विवरण आइसकेको अवस्था भने छैन् ।

पछिल्लो समय अलैँचीको खेती देशका विभिन्न ठाउँमा पनि विस्तार भइरहेको छ । सुरुवातमा प्रदेश १ का पहाडी जिल्लामा मात्रै खेती हुने अलैँची अहिले नेपालको सुदुरपश्चि प्रदेशमा पनि खेती हुने गरेको छ । खेती विस्तार भएको अवस्थामा उत्पादनमा वृद्धि हुने नै भयो ।

अलैँचीलाई केही वर्ष अघिसम्म कालो हिराको रुपमा परिषाभित गरिएको थियो तर पछिल्लो समय किसानले किन खेती मास्दै गएका होलान ?

पूर्ण रुपमा खेती मासेको अवस्था भने छैनन् । केही ठाउँमा रोग लागेर वा विरुवा बुढो भएर पनि मासेको हो । त्यसरी हटाइएका ठाउँमध्ये केहीमा पुनः रोपिएको छ भने केही ठाउँमा प्राविधिकको सल्लाह अनुसार पुनः खेती नगरिएको हो । तर सबै मासेर अर्को खेती गरेको अवस्था भने होइन ।

किसाने रोग लागेका र करिब ४० वर्ष पहिलेका विरुवा उखेलेर फालेको छन । त्यसलाई नै खेती नै मासे भनेर बुझ्न सकिदैन् । तर कुनै पनि किसानले नयाँ विरुवा नै उखेलेर फालेको अवस्था भने होइन । विरुवा निकालेको ठाउँको माटोको परिक्षण गरेर फेरी खेती गर्न मिल्ने अवस्थामा खेती गरिएको छ भने नमिल्ने भएमा अरुनै खेती गरिएको अवस्था छ ।

केही वर्ष अघि अलैँचीको मुख्य उत्पादन हुने क्षेत्र इलाममा नै उत्पादन शुन्यको अवस्था देखिएको थियो । त्यहाँ पुराना विरुवा फालेर नयाँ लगाउँदा यस्तो अवस्था आएको थियो । अहिले इलाममा उत्पादन भइरहेको छ । कसैले पनि अलैँची खेती छोडेर अर्को खेती गरेको सुन्नमा आएको छैन ।

अलैँचीको प्रबद्र्धनमा नेपाल अलैँची व्यवसायी संघले के गरिरहेको छ ?

संघमा अलैँची उत्पादन गर्ने किसान र व्यवसायीहरु संलग्न रहेका छन् । संघले व्यवसायी र किसानलाई नै हेर्छ । यो पेशामा लाग्ने सबैलाई समेटेर काम भइरहेको छ । संघले किसानहरुलाई रोगमुक्त विरुवा लगाउने र रोग लागेपछि गरिने उपचारका विषयमा पनि विभिन्न तालिमहरु दिने गरिरहेका छौँ । किसानलाई प्राविधिकको सहयोग लिएर विरुवा लगाउनका लागि अनुरोध गरेको छ । यसले किसानलाई फाइदा पुग्छ ।

त्यस्तै गुणस्तरीय अलैँची उत्पादनका लागि भट्टीमै त्यसलाई राम्रो गर्नु पर्ने आवश्यकता देखिन्छ । त्यसका लागि पनि संघले पहल गरिरहेको छ । किसानको स्तरबाट सबै काम भएको खण्डमा किसानले धेरै लाभ लिने भएकाले त्यस तर्फ पनि विशेष ध्यान दिइरहेका छौँ ।

विभिन्न समयमा लाग्ने रोग नियन्त्रणका लागि पनि पहल गरिरहेका छौँ । जसबाट सबै व्यवसायीहरुलाई फाइदा पुगेको छ । अर्को तर्फ ब्राण्डीङ गरेर लेबलिङ समेत गरेर बिक्री वितरण गर्ने विषयमा पनि संघले सोचिरहेको छ । नेपालमा अलैँचीको खपत कम भइरहेको अवस्थामा स्वदेशमा नै खपत बढाउने तर्फ पनि काम गरिरहेका छौँ ।

भातरबाट आउने सुकमेलको विकल्पका रुपमा पनि अलैँचीको प्रयोग गर्न सकिने भएकाले आफ्नो देशको उत्पादन प्रयोग गर्नका लागि सबैलाई यसका फायदाका विषयमा पनि जानकारी गराउनु पर्छ । बजारमा सहज उपलब्धताको आवश्यकता देखिएको छ ।

भारतले कमसल र कम मूल्यको अलैँची बजारमा ल्याएका कारण नेपाली अलैँचीको मूल्य नपाएको सुनिन्छ नि ?

विगतका वर्षमा यस्तो भएको थियो । जसले नेपाली अलैँचीको बिक्री समेत कम भएको अवस्था हो । त्यो समयमा भारतको आसाममा धेरै अलैँची उत्पादन भएको थियो । त्यो अलैँची कमसल पनि थियो र मूल्य पनि कम थियो । जसका कारण उपभोक्ता र व्यापारिहरुले पनि त्यसलाई नै प्रयोग गर्ने गरेका थिए ।

अर्कोतर्फ नेपालमा उत्पादन भएको ६० प्रतिशत अलैँची भारतीय बजारमा नै खपत हुने गरेको छ । भारतमा नै नेपालको भन्दा सस्तो मूल्यको सामान पाएपछि नेपाली वस्तुको बिक्रीमा ह्रास आएको थियो ।

अहिले भने यो अवस्था छैन । आसाममा उत्पादन पनि घटेको र गुणस्तर पनि कमसल भएकाले नेपाली अलैँचीको माग बढेको छ । उत्पादन बढी भएका कारण समयमा बिक्री नहुने र केही मूल्य घट्ने अवस्था आए पनि बिक्री भने भइरहेको छ ।

नेपाली बजारमा अलैँचीकै स्वादका सामनहरु पनि छन तर अलैँची किन सहज रुपमा उपलब्ध नभएको होला ?

नेपाली बजारमा पुर्‍याउन नसकिएको कुरा सही हो । यो हामीले पनि स्वीकार्नु पर्छ । तर पछिल्लो समय नेपालका बजारमा पनि अलैँचीको दाना तथा धुलो पठाइएको अवस्था छ । विस्तारै प्रयोग गर्ने बानी पनि बढीरहेको छ । अहिले काठमाडौं लगायत ठूला मार्केटहरुमा अलैँचीको उपलब्धता रहेको छ । अब विस्तारै अन्य बजारहरुमा पनि सहज रुपमा उपलब्ध गराउने विषयमा संघ लागिरहेको छ ।

राज्यले के गरेको खण्डमा अलैँचीबाट धेरैभन्दा धेरै फाइदा लिन सकिन्छ ?

नेपालको मुख्य बजार भारत नै हो । त्यस्तै युरोप अमेरिका पनि अलैँची निर्यात हुने गरेको छ । पाकिस्तान, बंगलादेशमा पनि हाम्रो अलैँची निर्यात हुने गरेको छ । धेरै आम्दानी गर्नका लागि प्याकिङ गरेर ब्राण्डीङ गरेर पठाउन सकेको खण्डमा यसबाट बढी नाफा लिन सकिन्छ । त्यस्तो गर्दा मूल्य पनि राम्रो पाइन्छ । जसबाट व्यवसायी र किसान दुवैलाई फाइदा पुग्छ ।

त्यस्तै निकासीका लागि भएका बाधाअडचन पनि फुकुवा गरिदिएको अवस्थामा अझ बढी आम्दानी गर्न सकिन्छ ।

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव आउँदै छ कस्तो नेतृत्वको अपेक्षा गर्नु भएको छ ?

महासंघको नेतृत्वले साना व्यवसायीलाई समेट्ने नसकेको भान भइरहेको छ । अब आउने नेतृत्वले साना व्यवसायीहरुका समस्यामा पनि केन्द्रित हुनु पर्ने आवश्यकता रहेको छ । अहिलेसम्मको नेतृत्व आफूलाई फाइदा हुने र लाभ हुने किसिमको काममा मात्रै केन्द्रित रहेको आभास साना व्यवसायीहरुले गरिरहेका छन् ।

अहिले व्यवसायीहरु मारमा परेको अवस्थामा महासंघले व्यवसायीका लागि खासै काम गरेको देखिदैन् । व्यवसायीका विषयमा सरकारसँग लविङ गरेर समस्या समाधानका लागि काम गर्नु पर्ने आवश्यकता देखिन्छ । आगामी नेतृत्व साना ठूला सबैलाई समेट्ने किसिमको आउनु पर्छ भन्ने हो ।
एउटै व्यक्ति महासंघमा हुने, बैंकमा पनि उसैको लगानी हुने, बीमा पनि उसैको नेतृत्व हुने कारण पनि साना व्यवसायीहरु मारमा परिरहेको अवस्था छ । यस्तो अवस्थाले साना व्यवसायीहरु माथि उठ्न नसकेको अवस्था देखिन्छ ।


Krishi Bikas Bank
franklin 1200*150