‘व्यवसाय बन्द गरी विदेश पलायन हुने अवस्था आयो’
वि.सं.२०७९ मंसिर २९ बिहीवार ०९:४५
shares

काठमाडौं, २८ मंसिर । अहिले देशमा आर्थिक मन्दीको अवस्था छ । तरलता अभावका कारण व्यवसायीहरुले ऋण समेत पाउन सकेका छैनन् । अझ पछिल्लो समय बैंकहरुले ब्याजदर बढाएका कारण पनि व्यवसायीहरु थप मारमा परेको भन्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुको व्यवसायमा भएको गिरावट र बैंकहरुले गरेको ज्यादतीका कारण अहिले सम्पूर्ण व्यवसायीको अवस्था नाजुक बन्दै गएको छ । यस्ता विषयहरुका बीचमा उद्योगीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनाव पनि हुदैछ । व्यवसायीका समस्या समाधान समाधान गर्नका लागि कस्तो नेतृत्व आउन आवश्यक छ ? पछिल्लो समय समग्र व्यवसायको अवस्था र महासंघको आगामी नेतृत्वका विषयमा केन्द्रीत रहेर उद्योग वाणिज्य महासंघका गण्डकी प्रदेश अध्यक्ष संजीव बहादुर कोईरालासँग गरिएको कुराकानीको सम्पादित अंश :
अहिलेको उद्योग व्यवसाय कस्तो छ ?
अहिले त व्यवसायको कुरै नगरौँ । व्यवसायीको हालत खराब छ । निजी क्षेत्रका व्यवसायीहरु त्यसै आन्दोलनमा उत्रिएका होइनन् । बाध्यता परेर यो कदम चालिएको हो । कुनै पनि व्यवसाय चल्न सकेको छैन । व्यवसायीहरुले लिएको लोनले घाँटी निचोरी रहेको छ ।
बैंकको ब्याजदर घट्ने कुरा छैन अझै बढ्ने कुरा गर्छन नेताहरु । नेपालमा पहिले नै कम उद्योग धन्दाहरु त्यसमा पनि यो कोभिडको समयमा कति बन्द भए त्यसपछि अलिअलि उठ्न खोज्दा बैंकहरुले फेरि भुईमै सुताएर रमिता हेरिरहेका छन् । त्यसकारण अहिले व्यवसाय गर्ने अवस्था नै छैन । नेपालमा दिनानुदिन धेरै युवाहरु झोला बोकेर प्रदेश तिर लागिरहेका छन् । नेपालमा केही गरेर खान नसक्ने अवस्था आएपछि व्यवसायीहरु नै बाहिरिनु पर्ने अवस्था रहेको छ ।
भर्खरै सरकाराले आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ, यसले व्यवसायीलाई कत्तिको राहात मिल्छ ?
प्रभाव त पार्छ केही व्यवसायमा । केही सहज होला तर यो समस्याको समाधान भने होइन । यो पनि सरकारले व्यवसायीको हितमा भन्दा पनि करको लोभमा फुकुवा गरेको हो । केही कच्चा पदार्थ ल्याउन सहज भएपनि अरु केही पनि प्रभाव पर्छ जस्तो मलाई लाग्दैन ।
हिजो आयात प्रतिबन्ध हुदा पनि कर छली गरेर सामानहरु प्रशस्त रुपमा ल्याइएकोे थियो । जस्तै सरकारले चिनी आयातमा प्रतिबन्ध लगाएको थियो । यो अवस्थामा हामीले आयात गर्न पाएनौँ । तर बजारमा चिनीको अभाव त देखिएन् । यस्तो कार्यमा केही सरकारी प्रतिनिधिहरु नै लागेर कर छलेर ल्याएको भनेर हामी सुनिरहेका छौँ । यस्तो अवस्थामा आयात बन्द गर्नु र खोल्नुको के अर्थ छ र ?
अहिले बैंकमा पैसा नहुनु पनि त्यही कारणले गर्दा हो । अहिले पैसा कि नेताहरुसँग छ की सरकारी कर्मचारीहरुसँग छ । उनीहरुले अवैध कारोबारबाट आएको पैसा देखाउदैनन् अनि कहाँबाट तरलताको समस्या हट्छ ?
अब एफएनसीसीआईको चुनाव आईरहेको छ, अबको नेतृत्व कस्तो आउनुपर्छ ?
हुन त जुनसुकै नेतृत्वले पनि आफ्नो स्वार्थभन्दा अरुको वास्ता नै गदैनन् । भन्छन् नी जुन जोगी आएपनि कानै चिरेको त्यस्तै भएको छ अहिले निजी क्षेत्रको अवस्था । नेतृत्वमा पुगेपछि आफ्नो व्यवसायभन्दा अर्कोतिर ध्यान नै जादैन । सरकारका भरौटेहरुको पछि लाग्यो कसरी आफुलाई उभो लाउन सकिन्छ त्यसमाथि आफुलाई कसरी विस्तार गर्न सकिन्छ त्यही अनुरुपको काम गर्यो ।
अरु मझौला तथा साना व्यवसायीहरुको जे सुकै होस उनीहरुलाई मतलव नै छैन । अनि निजीक्षेत्रमा जाने नेतृत्वले केही गर्छ की भन्ने के आश गर्नु र ?
यसमा त तपाईहरु पनि जिम्मेवार हुनुहुन्छ नि, तपाईहरुले नै चुनेर पठाउने होइन र ?
तपाइले भनेको कुरा सही हो । हामीले नै चुनेर पठाउने हो ।, तर हामीसँग एउटा कुरा गरेको हुन्छ अनि माथिल्लो तहमा पुगेपछि हामीलाई व्यवसायीहरुले नै छानेर पठाएको हो हामीले सबैको नेतृत्व गर्नुपर्छ भन्ने बिर्सिन्छन् । अनि आफ्नो स्वार्थ पुरा गर्नमा लाग्छन् त्यसकारण साना तथा मझौला व्यवसायीहरु जहिले पनि पछि परिरहन्छन् ।
हामी नेपालीहरुको स्वभाव पनि हो आफु मात्र अगाडि बढ्न पाए हुन्थ्यो अरु जे सुकै गरुन भन्ने त्यसको परिणाम हो आज तरलताको अभाव हुनु । व्यवसायीहरु भोकभोकै मर्नुपर्ने अवस्था आएको छ तर व्यवसायीका नेतृत्वमा बस्नेहरुले के गरे त । माथि पुगेपछि गरेका निणर्यहरु त फेरबदल भएर सार्वजनिक गरिएको हुन्छ अनि महासंघको नेतृत्वले केही गर्ला की भनेर आस गर्न ठाउँ देखिदैन् ।
अब सरकारले के गर्दियो भने निजी क्षेत्रलाई सहज हुन्छ ?
अब पनि सरकारले केही कदम चालेन भने निजी क्षेत्र मात्र होइन सम्पूर्ण देशको अर्थतन्त्र नै पहिलेको अवस्थामा ल्याउन सकिदैन । देशको आदिभन्दा धेरै अर्थतन्त्रलाई माथि उठाउने भनेको नै निजी क्षेत्र हो । सरकारले लगाएको नियममा परिमार्जन गरेन भने र बैंकहरुले गरिरहेको ज्यादतीलाई नियन्त्रण गर्न सकेन भने नेपाल पनि श्रीलंका जस्तो नहोला भन्न सकिन्न ।
चलिरहेका कतिपय उद्योगशरु बन्द भए । चलिरहेका उद्योगहरुको पनि उत्पादन क्षमतामा ह्रास आएको छ । पहिलेभन्दा बिक्री ५० प्रतिशतले घटेको अवस्था छ । नेपालीको किन्न क्षमतामा नै ह्रास आएको अवस्था छ ।
यत्रो हुदाँ त चुप लागेर बसेपछि अब केही गर्ला भन्ने आश पनि मरिसकेको छ । अब सरकारले व्यवसाय खोल्ने खालको वातावरण सिर्जना गरेन भने सीप सिकेका र क्षमता भएका युवाहरु पनि बाहिरी देश पलायन भईसके अब पनि यसलाई रोक्न सकिएन सीप भएका कामदारहरु सम्म भेट्टाउन गाह्रो हुन्छ ।
सरकारले नेपालमा व्यवसाय गर्ने वातावरण छ भन्ने सन्देश दिन सक्नु पर्छ । तयो राज्यको दायित्व पनि हो । त्यसका लागि व्यवसाय गर्नेहरुका लागि राज्यले नै प्रोत्साहान गर्नु पर्छ । नेपाल कृषि प्रधान देश हो । राज्यले पनि कृषि क्षेत्रमा लगानी गर्नु पर्ने हुन्छ । कृषिमा लागेकाहरुलाई पनि राज्यले समयमा बीउ विजन र मल उपलब्ध गराउन सकेको छैन् । यो अवस्थामा कसरी कृषिमा युवा आकर्षित हुन्छन त ? हाम्रो देशका अधिकांश बारी बाँझा छन् युवाहरु खाडीको तातो घाममा काम गर्न बाध्य छन् । वस्तु निर्यात गर्नु पर्ने अवस्थामा मानिस निर्यात गर्दा कसरी देश विकास हुन्छ भन्ने आस गर्नु ।
यस्तो गर्न सकेको खण्डमा गाउँबाट सहर र सहरबाट विदेश जानेहरुको संख्यामा कमि आउने र समग्र देशको विकास हुनमा सहयोग पुग्छ ।








