सुकुम्बासीलाई धनीपुर्जा

1.29K
shares
Krishi Bikas Bank

काठमाडौं, २५ मंसिर । झापाको कनकाई नगरपालिकाले यहाँका २० सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको छ । विश्व मानवअधिकार दिवसका अवसरमा नगरपालिकाले कनकाई–८ का सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको हो । सो अवसरमा नगर प्रमुख राजेन्द्र पोखरेलले हरेक मानिसले भूमि पाउनुपर्ने मानवअधिकारभित्रकै एउटा अधिकार भएकाले जग्गा धनीपुर्जा वितरण गरिएको बताए।

कनकाई वडा नं ८ थप ३० वटा र वडा नं ५ को ९० वटा धनीपुर्जा तयार भइसकेको जनाइएको छ । नगरमा रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बासोबासीलाई धनीपुर्जा वितरण गर्ने कार्यक्रमअन्तर्गत नै नगरपालिकाले जग्गा धनीपुर्जा वितरण गरेको हो ।

नगरपालिकाले तयारी धनीपुर्जा वितरण गर्ने तयारी गरे पनि भूमि आयोग झापाले प्रमाणीकरणको काम बाँकी रहेकाले प्रतिलिपिमात्र उपलब्ध गराएको छ । “भूमि ऐनले तथ्याङ्क सङ्कलन र धनीपुर्जा वितरणको अधिकार स्थानीय तहलाई दिएको छ”, नगरप्रमुख पोखरेलले भने, “छ दशकदेखि यहाँका नागरिकले धनीपुर्जा नपाएको अवस्था छ, अब त्यो अन्त्य हुन्छ ।”

नगरपालिकाले गत भदौ २५ गते नै धनीपुर्जा वितरण गर्ने कार्यक्रम तय गरेको थियो । निर्वाचन आचारसंहिताका कारण शनिबारदेखि धनीपुर्जा वितरण थालिएको नगरपालिकाले जनाएको छ । कनकाइमा भूमिहीन दलितको सङ्ख्या तीन सय ३७, भूमिहीन सुकुम्बासी दुई हजार तीन सय २९ र अव्यवस्थित बासोबासीको सङ्ख्या चार हजार चार सय २५ रहेको छ । उनीहरूको लगत सङ्कलनलगायतका सबै काम सकिएको छ भने एक हजार पाँच सय ३१ बिघा जग्गाको आठ हजार सात सय ७८ कित्ता जग्गाको धनीपुर्जा वितरण गरिने छ ।

 


Krishi Bikas Bank
franklin 1200*150