राजनीतिसँग व्यापारको मिश्रण: मुलुकमा समृद्धि कि अधोगति ? (भिडियाे)

14.97K
shares
Krishi Bikas Bank

काठमाडौं, २३ मंसिर । नेपालको पछिल्लो अवस्था हेर्ने हो भने सरकार र निजी क्षेत्र बीच गहिरो खाडल छ भन्दा फरक नपर्ला । निजी क्षेत्रका व्यवसायीहरू सरकारले निजी क्षेत्रलाई अवज्ञा गरेको जिकिर बेलाबेला गरिरहन्छन् । जसका कारण व्यवसायीहरू राजनीतिमा होमिने क्रम जारी रहेको छ । भर्खरै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा व्यवसायीहरूको सहभागीताकले पनि राजनीतिमा व्यवसायीहरूको चासो बढेको सजिलै अनुमान लगाउन सकिन्छ । गत प्रतिनिधि सभाको निर्वाचनमा विभिन्न दलबाट दुई दर्जन भन्दा बढी व्यवसायीहरू निर्वाचनमा होमिएका थिए । जसमध्ये करिब एक दर्जन व्यवसायी नीतिगत तहमा पुग्न सफल समेत भएका छन् ।

यससँगै नीतिगत तहमा व्यवसायीहरूको उपस्थितले मुलुकको राजनीतिमा कस्तो असर गर्छ भन्ने विषयमा चर्चा हुन थालेको छ । विश्व इतिहासलाई हेर्ने हो भने व्यवसायीहरू राजनीतिमा आएर सफल भएका विभिन्न उदाहरण पाउन सकिन्छ । अमेरिका, युके जस्ता विश्वले सफल मान्ने देशको नेतृत्व गर्ने मौका निजी क्षेत्रका सफल व्यक्तिले पाएका छन्, र त्यसमा निजी क्षेत्रमा सिकेको अनुभवलाई राजनीतिमा मिसाएको पाउन सकिन्छ । जसको फल स्वरूप राजनीतिसँग व्यापारको मिश्रणले देशलाई सकारात्मक असर परेको देखिन्छ । तर नेपालमा पनि यसको असर कस्तो पर्ला भन्ने विषयमा बहस हुन आवश्यक देखिन्छ ।

गत निर्वाचनले राजनीतिप्रति सबै पेसा, धर्म र वर्गको बढ्दो आकर्षणलाई पुष्टि गर्छ । उक्त निर्वाचनमा कलाकार, डाक्टर, शिक्षक, इन्जिनियर तथा व्यवसायी लगायत सबै पेसाका व्यक्तिहरूको उपस्थिति रहेको थियो । यो लोकतन्त्रको सुन्दरता समेत हो ।

हामीले यस अघि ‘व्यवसायीले गर्न सक्छन् देशको नेतृत्व !’ भन्ने शीर्षकमा लेख सार्वजनिक गरिसकेका छौँ । आजको यस रिपोर्टमा हामी नेपालमा पनि प्रतिनिधि सभामा प्रत्यक्ष रूपमा निर्वाचित भएका १० व्यवसायीको विषयमा चर्चा गर्ने छौँ ।

१) विनोद चौधरी

गत प्रतिनिधिसभाको निर्वाचनमा पश्चिम नवलपरासी १ बाट कांग्रेसको तर्फबाट अर्बपति विनोद चौधरीले विजय हाँसील गरेका छन् । उनी २०७४ सालको प्रतिनिधि सभामा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसद रहेका थिए । यस पटक भने उनले जनता प्रगतिशील पार्टी, नेपालका हृदयेश त्रिपाठीलाई पराजित गर्दै संसद्मा आफ्नो स्थान सुरक्षित गरेका छन् । उनले २९ हजार ५१९ मत ल्याउँदा त्रिपाठीले २२ हजार ३२८ मत पाएका थिए । नेपाली उद्योगी, अर्बपति, राजनीतिज्ञ तथा समाजसेवी समेत रहेका चौधरीका विभिन्न व्यवसाय छन् । उनी चौधरी ग्रुपका अध्यक्ष तथा कार्यकारी प्रमुखसमेत हुन् ।

२. एलपी साँवा लिम्बू

प्रतिनिधि सभामा आफ्नो स्थान सुरक्षित गराउन सफल रहेका अर्का व्यवसायी हुन् लालप्रसाद साँवा लिम्बू अर्थात् एलपी साँवा लिम्बू । वैदेशिक रोजगार सम्बन्धी व्यवसाय सञ्चालन गर्दै आएका लिम्बूले झापा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिँदै जित हात पारेका हुन् । उनले नेपाली कांग्रेसका देउकुमार थेवेलाई पराजित गरेका छन् ।, लिम्बूले २९ हजार ३१५ मत पाउँदा कांग्रेसका थेवेले २२ हजार ४४८ मत पाएका थिए । साँवा यसअघि पनि प्रतिनिधि सभाका प्रत्यक्ष सांसद थिए । उनले केही समय पहिला वैदेशिक रोजगार व्यवसाय छोडेर जलविद्युत तथा ऊर्जा क्षेत्रमा लगानी गरेका छन् ।

३. विक्रम पाण्डे

व्यवसायी विक्रम पाण्डे चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट विजयी भएका छन् । राप्रपाका तर्फबाट संसद् रहेका पाण्डे नेता तथा व्यवसायी हुन् । उनले नेकपा माओवादी केन्द्रका डा भोजराज अधिकारीलाई पराजित गरेका हुन् । पाण्डेले ३५ हजार ५५ मत पाउँदा अधिकारीले २५ हजार ८२२ मत पाएका हुन् । त्यसो त पाण्डे २०७३ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा वन मन्त्रीसमेत रहेका थिए । उनको कालिका कन्स्ट्रक्सन, कालिका एफएम, कालिका पावर कम्पनी र कालिका टावर रहेको छ ।

४ डा. वीरेन्द्र महतो

व्यवसायी डा. वीरेन्द्र महतोले जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट सिराहा क्षेत्र नम्बर ४ को प्रतिनिधित्व गर्ने भएका छन् । उनले जनमत पार्टीका वीरेन्द्रप्रसाद साहलाई पराजित गराएका हुन् । महतोले २४ हजार १०२ मत पाउँदा साहले १६ हजार २९४ मत पाएका थिए । डा. महतो एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोका भाइ हुन् । महतोको पनि आफ्नै विभिन्न व्यवसाय रहेको छ । उनी माछापुच्छ्रे बैंकका अध्यक्षसमेत हुन् ।

५. डा. सुनिल शर्मा

नेपाली कांग्रेसका तर्फबाट मोरङ ३ को प्रतिनिधित्व गर्ने डा. सुनिल शर्मा मेडिकल व्यवसायी हुन् । शर्माले एमालेका पूर्व स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई पराजित गरेका हुन् । शर्माले ४८ हजार ६३१ मत पाउँदा ढकालले २५ हजार ८९५ मत पाएका छन् । शर्माको अहिले ३ वटा मेडिकल कलेजका लगानी छन् । उनको लगानी रहेको र चर्चामा रहने मेडिकल कलेजमा विराटनगरको नोबेल मेडिकल कलेज र काठमाडौंको काठमाडौं मेडिकल कलेज रहेका छन् ।

६. राजेन्द्र बजगाईँ

नेपाली कांग्रेसको तर्फबाट निर्वाचनमा होमिएर गोरखा १ बाट नतिजा हात पार्न सफल राजेन्द्र बजगाईँ पनि एक चर्चित व्यवसायी हुन् । उनले नेकपा एमालेका रामशरण बस्नेतलाई पराजित गरेका हुन् । बजगाईंले ३३ हजार ४२८ मत पाउँदा बस्नेतले १६ हजार ७८५ मत पाएका थिए । पर्यटन व्यवसायी बजगाईंको होटेल वर्णबासमा १ अर्ब भन्दा बढी लगानी रहेको छ ।

७. पूर्णबहादुर तामाङ (कान्छाराम)

एक्लो निर्वाचन क्षेत्र रहेको रामेछापबाट जित हात पार्न सफल रहेका पूर्णबहादुर तामाङ कान्छाराम तामाङको नामले चर्चित छन् । नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने तामाङले नेकपा एमालेका कैलाशप्रसाद ढुंगेललाई पराजित गरेका हुन् । तामाङले ४७ हजार ९९ मत पाउँदा ढुंगेलले ३० हजार ७३० मत पाएका हुन् । तामाङ निर्माण व्यवसायी हुन् ।

८. कृष्णकुमार श्रेष्ठ (किसान)

किसान श्रेष्ठको नामले चिनिने कृष्ण कुमार श्रेष्ठ नेकपा (एकीकृत समाजवादी)का तर्फबाट बारा ४ बाट विजयी भएका छन् । उनले नेकपा एमालेका एकवाल मियाँलाई पराजित गरेका हुन् । श्रेष्ठले ३० हजार ३४१ मत पाउँदा मियाँले २० हजार ३३६ मत पाएका थिए । यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेका किसान पूर्व म्यानपावर व्यवसायी हुन् । उनी जग्गाको कारोबारमा पनि सक्रिय थिए ।

९. दीपक खड्का

एक्लो निर्वाचन रहेको संखुवसभाबाट नेपाली कांग्रेसका दीपक खड्का निर्वाचित भएका छन् । उनले नेकपा एमालेका राजेन्द्रप्रसाद गौतमलाई पराजित गरेका थिए । खड्काले ३२ हजार १६१ मत पाउँदा गौतमले २६ हजार ७२१ मत पाएका छन् । खड्काले पर्यटनका साथै जलविद्युतमा लगानी गरेका छन् ।

१०. मोहन आचार्य

नेपाली कांग्रेसका मोहन आचार्यले जित निकालेको रसुवा पनि एक्लो निर्वाचन क्षेत्र हो । आचार्यले नेकपा एमालेका छोवाङतेन्जिङ तामाङलाई पराजित गरेका हुन् । आचार्यले १८ हजार २३५ मत पाउँदा तामाङले ८ हजार ६१४ मत पाएका छन् ।
आर्चायको लगानीमा रसुवा कन्स्ट्रक्सन सञ्चालनमा रहेको छ । उनी यस अघि पनि संसद् रहिसकेका छन् ।

विश्व इतिहासमा व्यवसायीहरू राजनीतिमा सफल भइरहँदा नेपालमा पनि त्यही इतिहास दोहोरिएला भन्ने अपेक्षा राख्न सकिएला तर विश्वास गरिहाल्ने स्थितिको सिर्जना भने भएको छैन । विश्व राजनीतिको जानकारी लिएर राखेर नै व्यवसायीहरूले काम गर्ने हो भने मुलुक र निजी क्षेत्र दुवैलाई टेवा पुग्ने गरी कम गर्न सकिन्छ । तर सामूहिक स्वार्थलाई बेवास्ता गरेर व्यवसायीहरू निजी स्वार्थको पछि लाग्ने हो भने उनीहरूको उपस्थिति देशका लागि घातक नहोला भन्न सकिन्न ।

विश्वमा एउटा मान्यता के छ भने व्यवसायमा सफल भएका व्यक्तिसँग पर्याप्त सम्पत्ति हुने भएकाले उनीहरूले आफ्नो प्रतिष्ठाको निम्ति पनि भ्रष्टाचारलाई अवज्ञा गर्नेछन् । यदि नेपालमा पनि व्यवसायीहरूले यही मान्यतालाई आत्मसात् गरेर काम गर्ने हो भने नेपालले पनि औद्योगिक क्षेत्रमा फड्को मार्ला भन्ने अपेक्षा मतदाताहरूमा रहेको पाइन्छ ।

अन्ततः प्रतिनिधि सभामा चुनिएका व्यवसायीहरूले मतदाताको मतको सम्मान गर्छन् वा उपेक्षा गर्छन् त्यो समयले नै बताउने छ । साँच्चै एकजुट भएर व्यवसायीहरूले निस्वार्थ कार्य गर्ने हो भने सांसदको यो कार्यकाल औद्योगिक क्षेत्रको इतिहासमा ट्रनिङ पाइन्टको रूपमा चिनिने छ ।


Krishi Bikas Bank
franklin 1200*150