‘सरकारले सबै कुरा देखेर पनि अन्धो भएको नाटक गरिरहेको छ’
वि.सं.२०७९ मंसिर २५ आइतवार १०:११
shares

काठमाडौं, २३ मंसिर । बजारमा देखिएको तरलता अभाव र बैंकको बढेको ब्याजदरका कारण निजी क्षेत्र अहिले आन्दोलनमा रहेको छ । राष्ट्र बैंकले लिएको नीतिका कारण आफूहरु समस्यामा परेको व्यवसायीहरुको भनाइ छ । व्यवसायीहरु मारमा रहेको समयमा सरकार र सरोकारवाला निकाय भने कानमा तेल हालेर बसेको आरोप आम व्यवसायीहरुको छ । पछिल्ला सयम व्यवसायीले भोगिरहेका समस्या र आउदै गरेको उद्योग वाण्ज्यि महासंघको निर्वाचनबाट कस्तो नेतृत्व आउनु पर्छ भन्ने विषयमा केन्द्रित रहेर महासंघको प्रदेश नम्बर १ का अध्यक्ष टिकाराज ढकालसंग केटिएम भ्वाइसकर्मी युकला पौडेलले गरेको कुराकानीको सम्पादित अंश :
उद्योग व्यवसायीको अवस्था कस्तो छ ?
अहिलेको परिस्थितिमा व्यवसायको अवस्था एकदम दयनीय बनेको छ । व्यवसायीहरु भोकभोकै मर्ने बेला आएको छ । पूर्वमेची देखि पश्चिम महाकालीसम्म व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलनकै क्रममा कतिको ज्यान गईसकेको छ । देशको नेतृत्व गर्नेहरुको आफ्नै मात्र स्वार्थ परिपूर्ति गर्ने बानीको विकास अरु मरे पनि मरुन भन्नेहरु नेतृत्वमा रहेर यस्तो अवस्था आएको हो ।
सामानहरु ल्याउन सकेको अवस्था छैन । व्यवसाय पहिलेको तुलनामा ४० प्रतिशत मात्र संचालनमा रहेका छन् । त्यही संचालनमा रहेका व्यवसायहरुमा पनि माग अनुसारको कच्चा पदार्थ आयात गर्न सकिएको छैन । सामान आयातमा १०० प्रतिशत मार्जिनले गर्दा पर्याप्त रुपमा सामान आउन सकेको छैन । बैंकहरुले लोन प्रवाह गर्न सकेको छैन । लगानी गरेको कर्जामा पनि १५ प्रतिशतसम्म ब्याज भएका कारण व्यवसायीहरुलाई पहिलेको कर्जा चुकाउन नै हम्मे हम्मे परेको छ । व्यवसाय चलायमान छैन अनि बैंकहरुले विभिन्न नाममा लुट्ने कारण व्यवसायी धराप अवस्थामा आइपुगेका छन् ।
राष्ट्र बैंकले भर्खरै मौद्रिक नितिको पहिलो समिक्षा गरेको छ, यसले कतिको प्रभाव पार्यो ?
यो समीक्षाले निजी क्षेत्रलाई केही पनि सहज हुने वातावरण बनाएको छैन । देश नेताहरुको भने अनुसार चलन छ हाम्रो देशमा उहाँहरुलाई मन लागेको गर्नुहुन्छ । आफूलाई कताबाट फाइदा हुन्छ त्यताबाट काम गर्नुहुन्छ ।
व्यवसायीहरु मृत्युको मुखमा पुगेको अवस्थामा पनि देश चालाउनेहरुलाई खासै चासो छैन् । उहाँहरुलाई केलाउदै जाने हो भने उहाँका परिवार विदेशमा छन् । अनि उनीहरुलाई देशको के चिन्ता ? आफ्नो स्वार्थका लागि काम गर्यो । खाली बैंकहरुलाई मात्र बचाउने हो र व्यवसायीहरुको कुरा नसुन्ने हो भने नेपालीको व्यवसायहरुको अवस्था के रहन्छ ? बैंकमा राखेको पैसा पनि व्यवसायबाटै आएको हो । बैंकहरुले जति ज्यादती गरेपनि मुग्धदर्शक भएर मात्र हुदैन ।
व्यवसाय भनेको सिगों अर्थतन्त्रलाई प्रभाव पार्ने क्षेत्र हो । बैंकहरुले जुन नीति लागू गरिरहेका छन् । यसलाई स्पष्ट रुपमा लुटेको भन्न सकिन्छ । किनभने कुनै एक व्यक्तिले २ करोड लोन लिएको छ र उसले तिर्न सकेन भने उसको १० करोडको सम्पति लिन्छन् बैंकहरुले अनि हुन्छ त व्यवसाय चलायमान ? सरकारको नितिले व्यापारीहरुलाई चोर्न सिकाउछन् । अनि व्यवपारीले चार्यो भन्छन् तर चोर्न सिकाउने तीनै कर्मचारीहरु हुन् । यो कुरालाई मनन् गर्न सक्नुपर्यो नी । विदेशबाट तेलको मूल्य घटेर आउछ हाम्रो देशमा घट्दैन ।
बैंकको ब्याजदर बाहेक के–के समस्या छन् निजी क्षेत्रका ?
सबै समस्याहरु बैंकको ब्याजदरसँगै जोडिएका हुन्छन् । त्यो बाहेक पनि केही छन् । पैसाको अभावले उत्पादनमा कमी आएको छ मूल्य वृद्धि भएको छ । बजार सुस्त छ । कसैले बाँकी लगानी गरेको छ भने त्यो रकम उठाउनका लागि पनि समस्या रहेको छ । नेपालीको क्रयशक्ति समेत घटेको अवस्था हो । यो पनि अर्थतन्त्रमा देखिएको मन्दी कै कारण हो । सबै कुरा आर्थिक मन्दीसँगै जोडिएको कुरा छ ।
महासंघको चुनाव पनि आईरहेको छ अबको नेतृत्व कस्तो आउनुपर्छ ?
विधान त वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बन्ने व्यवस्था छ । जस अनुसार अध्यक्ष स्वत हुने भयो । त्यो भन्दा अन्य पदमा चुनाव हुने कुरा भयो र हुन्छ पनि होला । अहिले धेरै जसो वरिष्ठ उपाध्यक्षमा बढी प्रतिस्पर्धा रहन्छ । त्यसमा जाने व्यक्ति व्यवसायीको हकहितको लागि काम गर्न सक्ने हुनु पर्छ । व्यवसायीका विषयमा केही पनि नबोल्ने आफ्नो व्यवसायलाई मात्र प्राथमिकतमा राख्ने अरु व्यवसायमा भएका समस्याहरुलाई आवाज नउठाउने परिपाटी अहिलेको नेतृत्वमा देखिएको छ ।
आफु मात्र ठुलो आफ्ना समस्या मात्र हेर्ने र स्वार्थ पुरा गर्ने परिपाटी अबको नेतृत्वबाट परिवर्तन हुनुपर्छ । सरकासंग डटेर कुरा गर्न सक्ने सबै व्यवसायीका हकहितका लागि बोल्न सक्ने नेतृत्व आउनुपर्यो । म साथीभाइहरुलाई के भन्छु भने जसले आफ्नो मात्र स्वार्थ पुरा गर्छ त्यस्ता व्यक्तिहरुलाई सहयोग नगर्नुहोस । यसले हामीलाई दीर्घकालीन समस्यामा पार्छ । उनीहरु आउँछन् आफ्नो कार्यकालभरि आफ्नो स्वार्थ पुरा गर्छन् जान्छन् हामी व्यवसायी जहाँको त्यही रहन्छौँ ।
त्यसैले यस्ता खालको नेतृत्व हामीले हटाउनैपर्छ । हामीले यस्तो परिपाटीलाई परिमार्जन गर्न हातमालो गर्नैपर्छ र यस्तो संस्कृति हटाउनुपर्छ । जसले हरेक क्षेत्रका समस्यालाई मध्यनजर गर्दै अगाडि बढ्छ व्यवसायीका समस्याहरुलाई समेट्न सक्छ त्यस्तो नेतृत्व आउनुपर्छ जस्तो लाग्छ ।
अब राष्ट्र बैंक अथवा सरकारले कस्तो नीति बनायो भने निजी क्षेत्रलाई अगाडि बढ्न सहज हुन्छ ?
पहिलो कुरा त बैंकको ब्याजदर घटाउनुपर्यो । बैंकमा पैसा हुदा चै जथाभावी जति पनि लगानी गर्ने जुनसुकै क्षेत्रमा पनि ठुलो रकम लगानी गर्दा सरकारले के हेर्यो र राष्ट्र बैंक सुतेको थियो त्यो बेला ? अनि अहिले तरलता अभाव भयो भन्यो मनलाग्दो ब्याज बढायो व्यवसायीहरुलाई मर्नु न बाच्नुको अवस्थामा पुर्याउने कार्य गर्नु भएन् ।
एउटा सिमा भित्र रहेर लगानी गर्ने नियम लागु गर्नुपर्यो । ५ प्रतिशतमा लिएको ऋण अहिले बढाएर १५ प्रतिशत भएको छ अनि कसरी तिर्ने व्यवसायीले ? अहिले जग्गा बेचेर तिरौँ भन्दा पनि कित्ता काँटमा प्रतिबन्ध लगाएको छ सरकारले । नीति बनाएर मात्र भएन लागु पनि गर्नुपर्यो ।
उद्योगधन्दा चल्न सक्ने वातावरण सिर्जना गर्नुपर्यो । किसानहरुलाई समयका बिउविजिन र मल उपलब्ध गराउनु पर्ने देखिन्छ । जसबाट उत्पादनमा वृद्धि हुन्छ । चारैतिरका खुल्ला सिमानामा व्यवस्थापन गर्नुपर्यो । आयात प्रतिबन्ध लगाएको भन्ने अनि चोरी निकासीबाट झन सस्तोमा सामान हामीसँग नै आईपुग्छन् । अनि कसरी हुन्छ । नेपालमा उत्पादन गरेको सामानभन्दा चोरी निकासी गरेर ल्याएको सामान धेरै सस्तो पर्छ । बजारमा अनि नेपाली व्यवसायीहरुले अरु देशसँग कसरी प्रतिस्पर्धा गर्ने । आज दुई रुपैयाँमा बेचिरहेको सामानलाई ५० रुपैयाँमा बेच्न सकिदैन ।
विदेशी सामान आयातमा केही वस्तुमा प्रतिबन्ध लगााएको छ हैन ?
प्रतिबन्ध लगाएर त्यसको केही महत्व छैन । प्रतिबन्ध लगाएका सामान चोरी निकासीबाट झन सस्तोमा नेपालमा प्रशस्त मात्रामा भित्रिरहेका छन् । अनि सामान ल्याउँदा चै नेपालको डलर बाहिर गयो भन्ने अनि नेताहरु घुम्न जाँदा डलर जादैन ? परिवार लिएर सबै घुम्न जादा बाहिरिएन डलर ? किन जानुपर्यो त यस्तो अवस्थामा विदेश घुम्नका लागि ।
विदेश घुम्न जाने कार्यलाई पनि रोक्नु पर्ने होइन र ? डलर जोगाउने भन्ने अनि विदेश घुम्न जानका लागि खुला गर्ने गर्दा डलर त विदेश गएको नै छ त । कि विदेश घुम्न जानु भने अत्यावश्यक कुरामा पर्छ भनेर भन्नु परो नत्र रोख्नु पर्यो । सरकारको र हामी व्यवपारीको सोच नै मिलेन ।
निजी क्षेत्रले स्पष्ट रुपमा आफ्ना समस्याहरु देखाउन नसकेको हो की ?
हाम्रा समस्याका विषयमा हामीले सम्बन्धीत निकायमा जानकारी गराएका छौँ । देखाको छ नि यहाँभन्दा कति देखाउने ? हिजो आफैले बैंकमा पैसा धेरै भयो लैजानुहोस भनेर लगानी गर्ने अनि अहिले पैसा छैन भनेर व्यापारीहरुलाई समस्यामा पार्न पाइएन ।
हिजो दुई रुपैयाँ लगानी गर्ने ठाँउमा १० रुपैयाँ लगानी गर्ने अनि आएर सम्पूर्ण राज्यको अर्थतन्त्रमा आँच पुग्ने नीतिहरु बनाउने ? हरेक दिन व्यवसायीहरु सरकार समक्ष हारगुहार गर्न पुगेका छन् । यो ब्याजदरले हामीलाई सास फेर्न गाह्रो भयो भनेर आन्दोलन गरेका छन् । या भन्दा कति स्पष्ट पार्ने सरकारलाई । सरकारले सबैकुरा देखेर नि अन्धो भएको नाटक गरेको छ ।








