सुपरमाई हाइड्रोपावरको आईपीओमा आजबाट आवेदन दिन सकिने
वि.सं.२०७९ मंसिर २१ बुधवार ११:३२
shares

काठमाडौं, २१ मंसिर । सुपरमाई हाइड्रोपावर लिमिटेडले आज अर्थात बुधबारबाट आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले आफ्नो जारी ५० करोड को १० प्रतिशत हुन आउने ५ करोड बराबरको ५ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो भने ५० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको हो ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरिने शेयरमध्ये ४० प्रतिशत अर्थात २ लाख कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्रका बासिन्दाहरुमा र बाँकी ६० प्रतिशत अर्थात ३ लाख कित्ता सो क्षेत्र बाहेकका इलाम जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुमा बाँडफाँट गरिने कम्पनीको भनाई छ ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीहरुले छिटोमा पुस ६ गतेसम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरिएको शेयरमा छिटो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलोमा पुस २१ गतेसम्म विक्री अवधि लम्बिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले गुडविल फाइनान्स, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र सुपरमाई हाइड्रोपावर लिमिटेडको कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा गएका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।








