पहिलो त्रैमासिकमा ८६ उद्योग दर्ता, करिब ८८ अर्बको लगानी प्रतिबद्धता
वि.सं.२०७९ मंसिर १४ बुधवार १०:३०
shares

काठमाडौं, १४ मंसिर । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ८६ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्यांक अनुसार चालु अर्थिक वर्षको असोज मसान्तसम्म ८६ वटा उद्योगहरु दर्ता भएका हुन् ।
विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको तीन महनिामा दर्ता भएका उद्योगको संख्या गत वर्षको सोही अवधिको तुलनामा १ ले कमी हो । गत वर्षको सुरुको तीन महिनामा ८७ वटा उद्योग दर्ता भएको विभागको तथ्यांकल छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा विभागमा दर्ता भएका उद्योगमध्ये २६ वटा ठूला उद्योग रहेका छन् । त्यस्तै ३१ वटा मझौला र २९ वटा साना उद्योग रहेका छन् । गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा २६ वटा ठूला, ३४ मझौला र २७ वटा साना उद्योग दर्ता भएका थिए ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ८६ वटा उद्योग दर्ताबाट करिब ८८ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । तीन महिनाको अवधिमा ८७ अर्ब ८५ करोडको लगानी प्रतिबद्धता प्राप्त गएको विभागले जनाएको छ । दर्ता भएको उद्योगहरुमा ५ हजार ९३५ जनाले रोजगारी प्राप्त गरेको विभागको तथ्यांकले देखाएको छ ।
त्यस्तै यो अवधिमा २ अर्ब २४ करोड रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ । विदेशी लगानीमा १९ वटा उद्योग दर्ता भएका छन् । उक्त उद्योगले १ हजार ४३ जनालाई रोजगार दिनेछन् ।








