चुनावलाई ध्यानमा राख्दै महासंघका आन्दोलनका कार्यक्रम स्थगित

2.5K
shares
Krishi Bikas Bank

काठमाडौं, २३ कात्तिक । आगामी संघ र प्रदेशको चुनावलाई ध्यानमा राखेर नेपाल उद्योग वाणिज्य महासंघले आफ्ना आन्दोलनका कार्यत्रम स्थगित गरेका छ । बुधबार विज्ञप्ति जारी गरेर महासंघले मंसिर ४ गते हुने चुनावलाई मध्यनजर गरेर आन्दोलनका कार्यक्रम स्थगित गरिएको जानकारी दिएको हो ।

पछिल्लो समय महासंघले बजारमा देखिएको तरलता अभावका कारण निरन्तर बढिरहेको कर्जाको ब्याजदर स्थायित्व र चालु पुँजी कर्जा मार्गदर्शन स्थगित गर्न माग गर्दै आन्दोलन गरिरहेको छ । ‘महासंघले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकसँग जोडदार माग गर्दछ । बजारको न्युन मागका कारण व्यापार व्यवसाय प्रभावित भैरहेका बेला बढेको ब्याजदर र यही कात्तिकबाट केन्द्रीय बैंकले लागु गरेको मार्गदर्शनका कारण निजी क्षेत्र मर्माहत भएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व र चालु पुँजी कर्जा मार्गदर्शन स्थगनका लागि महासंघका सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघहरु एवं वस्तुगत संघहरूले राखेका मागप्रति महासंघ ऐक्यवद्धता रहेको जनाइएको छ । तर यही मंसिर ४ गते प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन हुन गैरहेको र लोकतान्त्रिक व्यवस्था एवं खुला बजार अर्थतन्त्रका लागि निर्वाचन महत्वपूर्ण रहेको बिषयलाई मनन गर्दै हाल संचालित विरोधका कार्यक्रम स्थगित गर्न महासंघ सम्पूर्ण प्रदेश च्याप्टर र सदस्य संस्थाहरूलाई आग्रह गर्दछ । साथै निर्वाचन सफल पार्न आ–आफ्नो क्षेत्रबाट सहयोग पुर्‍याउन पनि महासंघले आग्रह गरेको छ ।

निर्वाचनको अवधिमा पनि महासंघले लगातार रुपमा सरोकारवाला निकायसँग छलफल जारी राख्ने विज्ञप्तिमा जनाएको छ । महासंघले वार्ता एवं सम्बादबाट समस्या समाधान हुने विश्वास पनि व्यक्त गरेको छ । तर निर्वाचनपछि पनि समस्या समाधान नभएमा निजिक्षेत्रको हक हितका लागि थप कार्यक्रम घोषणा गरिने पनि महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ ।


Krishi Bikas Bank
franklin 1200*150