जापानमा उच्च शिक्षाको अवसरका लागि संवाद

1.79K
shares
Krishi Bikas Bank

काठमाडौं, २२ कात्तिक । पोखरा विश्वविद्यालयले जापानमा उच्च शिक्षाको अवसर सम्बन्धमा नेपाल–जापान शैक्षिक संवाद कार्यक्रम आयोजना गरेको छ ।

दी युनिभर्सिटी अफ टोक्योको प्रमुख आयोजना र पोखरा विश्वविद्यालय एवम् मिडिया हेल्पलाइनको सहकार्यमा विश्वविद्यालयको प्राज्ञिक भवन लेखनाथमा आयोजित विद्यार्थीका लागि छात्रवृत्ति, शैक्षिक कार्यक्रम, अध्ययन वातावरण र रोजगारीका विभिन्न विषयमा प्रस्तुतीकरण गरिएको थियो ।

कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले पोखरा विश्वविद्यालयले बजारको आवश्यकताअनुसार उत्पादन र रोजगारमुखी कार्यक्रम सञ्चालन गरेर देशको सामाजिक एवम् आर्थिक विकासमा महत्वपूर्ण टेवा पु¥याएको बताए ।

उनले शिक्षाको गुणस्तर र नवीनताका लागि विश्वविद्यालयले अनुसन्धानमा जोड दिएको उल्लेख गर्दै विश्वका अन्य मुलुकसँगै जापान शैक्षिक अवसर र रोजगारीका लागि प्रमुख गन्तव्य रहेकाले त्यहाँ शैक्षिक एवम् अनुसन्धानात्मक गतिविधिमा सहकार्य गर्न यस्ता कार्यक्रम उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे ।

नेपालका लागि जापानी राजदूत किकुता युताकाले भिडियो सन्देशमार्फत नेपाल र जापानको सम्बन्ध अभिवृद्धि गर्न यस किसिमको कार्यक्रम फलदायी हुने विचार व्यक्त गरे ।

इन्टरनेसनल प्रोजेक्टस प्रमोसन गु्रप, रिसर्च प्रमोसन डिपार्टमेन्ट, दी युनिभर्सिटी अफ टोक्योका सल्लाहकार काजिहिरो मोरीले पोखरा नेपालको अत्यन्त सुन्दर ठाउँ रहेको उल्लेख गर्दै विद्यार्थीको सुन्दर भविष्यका लागि पोखरा विश्वविद्यालयसँग सहकार्य गर्दै अगाडि बढ्न आफू इच्छुक रहेको बताए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक पवन भट्टराई, रित्सुमेइकान एसियाप्यासिफिक युनिभर्सिटीका पूर्वनेपाली विद्यार्थी राशी महर्जन, नेपालस्थित जापानिज राजदूतावासका द्वितीय सचिव मायुको सातो, ग्लोबल एडमिसन अफिसका राई यिसिडा, टोक्यो युनिभर्सिटी अफ फरिन स्टडिजका साराश्री ढुङ्गाना, टोक्यो युनिभर्सिटी अफ फरिन स्टडिज एडमिसन सेन्टरका मिजुहो युनो, इन्टरनेसनल युनिभर्सिटी अफ जापानका राशी गुप्ता र क्योटो युनिभर्सिटी अफ एडभान्स साइन्सका कियोशी ताकेदाले प्रस्तुतीकरण गरे।

उनिहरूले जापानको विश्वविद्यालय जीवन, अध्ययन अवसर, छात्रवृत्तिलगायत मानविकी तथा सामाजिकशास्त्र, इञ्जिनियरिङ, व्यवस्थापन विषयमा अध्ययन गर्न आवश्यक प्रक्रिया र चाहिने योग्यताका बारेमा प्रस्तुतीकरण गरेका थिए । सुन्दर र विकसित देशका रूपमा परिचित जापान नेपाली विद्यार्थीका लागि उच्च शिक्षासँगै आर्थिक उपार्जनको प्रमुख गन्तव्य रहेको छ । यहाँ विद्यार्थीलाई आइटी, इन्जिनियरिङ, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिजम लगायतका विषयको माग बढी देखिएको र यी विषय अध्ययन गर्दा स्वदेशमा आएर पनि राम्ररी स्थापित हुन सकिने कार्यक्रममा जोड दिइयो ।

कार्यक्रममा दी युनिभर्सिटी अफ टोक्योका डा दीपेश खरेल, जगदीश खरेल, पोखरा विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक सहप्राडा उमेशसिंह यादव लगायतले जापानमा उच्च शिक्षा अध्ययनको अवस्था लगायतमा प्रकाश पारे ।

 


Krishi Bikas Bank
franklin 1200*150