सधै नयाँ खोज्ने कैलाली क्षेत्र नम्बर १, कसले मार्ला बाजी ?
वि.सं.२०७९ कात्तिक २१ सोमवार १६:०४
shares

काठमाडौं, २१ कात्तिक । अहिले मुलुक चुनावी माहोलले तातिएको छ । अब चुनाव आउनका लागि केही हप्तामात्रै बाँकी रहेको छ । यस्तो अवस्थामा चुनावको अंकगणित देखि विभिन्न पक्षेपण सुरु भएका छन् ।
देशका १६५ वटा निर्वाचन क्षेत्रमध्ये कैलालीको क्षेत्र नम्बर १ पनि एक हो । जहाँ आजसम्म कोही पनि उम्मेदवारले दोहोरीएस विजय प्राप्त गर्न सकेका छैन् । यो क्षेत्रमा पर्ने टिकापुर नगरपालिकामा पनि अहिलेसम्म कोही पनि दोहोरीएको इतिहास छैन् । यसरी हेर्दा यो क्षेत्रका जनताले सधै नै नयाँ उम्मेदावर खोज्ने गरेका छन् । एक पटक जितेकालाई पुनः नजिताउने क्षेत्रका रुपमा परिचित यो क्षेत्रमा अहिले चुनावी सरगर्मी निकै बढेको छ । यो निर्वाचन क्षेत्रमा २०४८ देखि अहिलेसम्म कोही पनि उम्मेदवार दोहोरीएका छैनन् ।
२०४८ सालमा भएको संसदीय निर्वाचनमा यो क्षेत्रबाट नेपाली कांग्रेसका गंगावहादुर कुँबर विजयी भए । त्यस पछि २०५१ सालमा भएको चुनावमा नेकपा (एमाले)बाट हिमाञ्चलराज भट्टराईले बाजि मारे । त्यस्तै २०५६ सालमा सुशिला स्वाँर, २०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचनमा नेकपा (माओवादी) की रुपा चौधरी र २०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनमा तत्कालिन मधेशी जनअधिकार फोरमका जनक चौधरी विजयी भएका थिए ।
त्यस्तै २०७४ सालमा भएको संघीय निर्वाचनमा यो क्षेत्रमा मधेशी जनअधिकार फोरमकै रेशम चौधरी विजय भएका थिए । तर यीनिहरु कोही पनि एक कार्यकालभन्दा बढी दोहोरीएको इतिहास छैन् ।
त्यस्तै यसै चेत्रमा पर्ने टीकापुर नगरपालिकामा २०५४ सालमा रत्नप्रसाद सञ्जाल र २०७४ सालमा तपेन्द्र रावल मेयरमा निर्वाचित भएका थिए । यस्तै २०७९ सालका निर्वाचनमा टीकापुरमा नागरिक उन्मुक्ति पार्टीबाट रामलाल डगौरा थारु निर्वाचित भएका छन् ।
आगामी मंसिरमा हुने चुनावका लागि कैलालीको यो क्षेत्रबाट नेकपा (एमाले)बाट तपेन्द्र रावल, सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसबाट रामजनम चौधरी र नागरिका उन्मुक्ति पार्टीबाट श्रेष्ठ रन्जिता चौधरी उम्मेदवार बनेका छन् ।
रावल टीकापुर नगरपालिकाका पूर्वमेयर हुन भने रामजनम चौधरी कैलाली क्षेत्र नंं २ वाट २०४८ सालबाट लगातार पाँच पटक निर्वाचन जित्दै आएका नेता हुन् । चौधरी २०७४ सालमा नेकपा (माओवादी केन्द्र) गौरीशंकर चौधरीसंग पराजित भएका थिए । यस्तै नागरिक उन्मुक्तिबाट उम्मेदवार बनेकी श्रेष्ठ रन्जिता रेशम चौधरीकी श्रीमति हुन् ।
यस्तै यो क्षेत्रको प्रदेश ख बाट एमालेबाट द्धारिकाप्रसाद न्यौपाने, कांग्रेसका रणवहादुर रावल र नागरिक उन्मुक्ति पार्टीबाट लक्ष्मण चौधरी उम्मेदवार बनेका छन् । टीकापुर क्षेत्रमा मतदाताले निर्वाचनमा घोषणा गरेअनुसार काम नगरेको भन्दै प्रत्येक निर्वाचनमा जनप्रतिनिधिलाई फेर्ने गरेका छन् ।
अहिले पनि टीकापुरका जनताले पहिले जितेका उम्मेदवार भन्दा नयाँ, योग्य र युवालाई खोजिरहेका छन् । संघीय निर्वाचनमा उम्मेदवार बनेका तीनै जना नयाँ हुन । यस्तै प्रदेशमा रावल वाहेक न्यौपाने र चौधरी नयाँ उम्मेदवार हुन् ।








