कालोसूचीमा रहेकी विनु रायमाझी कांग्रेसको समानुपातिक उम्मेदवार
वि.सं.२०७९ कात्तिक १९ शनिवार ०९:२३
shares

काठमाडौं, १९ । नेपाली कांग्रेसले बैंकको कर्जा चुक्ता नगरेर कालोसूचीमा परेकी व्यक्तिलाई समानुपातिक तर्फको प्रदेश सभा सदस्यको उम्मेदवार बनाएको पाइएको छ । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेकी विनु रायमाझी पौडेललाई कांग्रेसले समानुपातिक सांसदको उम्मेदवार बनाएको हो ।
विनु तिनै व्यक्ति हुन् जो सञ्चालक रहेको कम्पनीले बैंकको ऋण तिरेको छैन । बैंककै पत्र अनुसार उनलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको छ ।
विनुको कम्पनी बि.एम.आर. कन्ट्रक्सन एण्ड सप्लायर्सको नामबाट उनले खातामा रकम नै नभइ चेक काटेको समेत केन्द्रले जनाएको छ ।
कर्जा सूचना केन्द्रले दिएको जानकारी अनुसार २०७८ फागुन ३० गते केन्द्रले उनलाई कालोसूचीमा राखेको थियो । कालोसूची रहेकै बेला कांग्रेसले उनलाई खस आर्य महिला क्लस्टरमा सामानुपातिक उम्मेदवार बनाएको हो ।
समानुपातिक उम्मेदवार विनुले भने यस विषयमा आफूलाई जानकारी नै नभएको दावी गरिन् । केटिएम भ्वाइससँगको कुराकानीमा उनले भनिन्, ‘खै मलाई त यो विषयमा थाहैँ भएन, म बुझेर कल गर्छु ।’








