कर्णाली राजमार्गमा सञ्चालित सवारी साधनको भाडादर कायम

1.92K
shares
Krishi Bikas Bank

काठमाडौं, १८ कात्तिक । कर्णाली राजमार्गमा सञ्चालन हुने सवारी साधनको भाडा दर कायम गरिएको छ । महँगी बढेकाले नयाँ भाडादर कायम गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय जुम्लामा कात्तिक १५ मा बसेको बैठकले नेपाल सरकारले गत असार २७ गते निर्धारण गरेको भाडादरअनुसार जुम्ला, कालीकोट र सुर्खेतसम्मको भाडा दर कायम गरिएको यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख लोकबहादुर महतले जानकारी दिए ।

उनका अनुसार उक्त निर्धारित भाडा दरमा १५ प्रतिशत बढाएर नयाँ भाडा दर कायम गरिएको हो । जसमा जुम्ला–सुर्खेतसम्मको एक हजार दुई सय ८३ भाडा दरमा १५ प्रतिशत बढाएर रु एक हजार चार सय ७५ कायम गरिएको छ । त्यस्तै मिनिबस/हाइसको एक हजार ५७० लाई बढाएर एक हजार आठ सय पाँच कायम गरिएको छ ।

त्यस्तै जुम्ला–सुर्खेत जीपका लागि एक हजार आठ सय ४५ मा १५ प्रतिशत बढाएर दुई हजार एक सय २१ भाडा पुगेको उनले बताए । प्रमुख महतका अनुसार जुम्ला काठमाडौँका लागि चार हजार भाडा लिने गरेको बसको भाडादर तीन हजार दुई सय २० कायम गरिएको छ ।

नागरिकले अटोरिक्सा, जीप, हाइस/मिनिबस, बसलगायतका सवारीसाधनले महँगो भाडा लिएर नागरिकलाई मर्कामा पारेको जनगुनासो आएपछि कर्णाली राजमार्गमा सञ्चालन हुने सबै प्रकारका सवारी साधनको भाडादरमा हेरफेर गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लामा प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जानकारी दिए ।

कर्णाली प्रदेश सरकारले सवारी यातायातसम्बन्धी भाडादर कायम नगरेको र कानून पनि नबनाएकाले यहाँका पहाडी तथा हिमाली जिल्लाको भाडादर कायम गर्न समस्या भएको केसरीको भनाइ छ ।


Krishi Bikas Bank
franklin 1200*150