मार्सीधानमा रोग लागेपछि आगो लगाएर नष्ट गर्दै किसान

1.55K
shares
Krishi Bikas Bank

काठमाडौं, १८ कात्तिक । पाकेको मार्सीधानमा ब्लाष्ट रोग लागेपछि जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गौतमवाडाका किसानले खेतमै आगो लगाएर नष्ट गरेका छन् । ब्लाष्ट रोगको सङ्क्रमणले धान सखाप भएपछि आगो लगाउनेबाहेक अरु विकल्प नभएको किसान दीपक खत्रीले बताए ।

धान भित्रर्याउन खेतमा पुगेका गौतमवाडाका किसानले धानको बाला नै नलागेपछि परालमा आगो लगाउनुपरेको बताए । गएको वर्ष १५ देखि १६ बोरा धान उत्पादन हुन्थ्यो । ब्लाष्ट रोगले धानको बालामा क्षति गरेको छ । उन्नत जातको धान रोप्दा चार बोरा मात्रै उत्पादन भयो । बाँकी सबै मार्सी धान सखाप भएपछि आगो लगाउन बाध्य भएको स्थानीयवासी खगेन्द्र खत्रीले जानकारी दिए ।

धानबाली सखाप भएपछि परिवारको जीविकोपार्जन गर्न कठिन भएको त्यहाँका किसानको गुनासो थियो । मार्सी धानले बाह्रै महिना खान पुग्ने भएकाले चामल किन्न बजार जानुपरेको थिएन पहिलो पटक बजार गएर सेतो चामलको भात खानुपर्ने दिन पनि आयो । जेठको पहिलो साता खेतमा मार्सी धानको रोपाइँ भएको थियो । धान उत्पादन नहुँदा उक्त गाउँका ६० घरधुरीलाई यो वर्ष खाद्यान्न अभाव हुने देखिएको गौतमवाडावासीले बताए ।

तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले गौतमवाडाका किसानको निवेदन प्राप्त भएको र पीडित किसानको राहतका लागि पालिकाले पहल गर्ने बताए । धानमा रोग फैलिएको सूचना पाएपछि कृषि प्राविधिकसहित जिल्ला कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीसमेत किसानको खेतमा गुगेका थिए । किसानलाई विषादी छर्न अनुरोध गरिए पनि विषादीले कामै नगरेको उनको भनाइ थियो ।

मार्सी धानमा ब्लाष्ट रोगको सङ्क्रमण भएको छ । उन्नत जातको उक्त धानमा यो रोगको खासै समस्या छैन तर मार्सी धानले किरा खप्न नसक्दा बढी क्षति हुने गरेको छ । धानको नमूना ल्याएर कृषि अनुसन्धान केन्द्रमा पठाएका थियौँ, केन्द्रले त्यसको विवरण कृषि अनुसन्धान परिषद्मा पठायो, कृषि वैज्ञानिकको परामर्शमा प्राविधिक पठाएर चुना र निलोथुतो छर्न लगायौँ तर धानमा लागेको रोग नियन्त्रणमा आएन् कार्यालय प्रमुख अधिकारीले बताए जुम्लामा दुई हजार नौ सय हेक्टरमा धानखेती हुँदै आएकामा एक हजार हेक्टरमा मार्सी धानको खेती गरिँदै आएको उनले जानकारी दिए । यो वर्ष जिल्लाको कूल धान उत्पादनको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको उक्त कार्यालयले जनाएको छ ।


Krishi Bikas Bank
franklin 1200*150