निहारिका घटना : शिवराजसँग छोराको डिएनए मिल्यो

1.89K
shares
Krishi Bikas Bank

काठमाडौं, १८ कात्तिक । महोत्तरीको जलेश्वरकी निहारिका सिंह राजपुतका छोराको डिएनए बलात्कार आरोपी धनुषाका शिवराज श्रेष्ठसँग मिलेको छ । विधि विज्ञान प्रयोगशाला काठमाडौंले शुक्रबार उच्च अदालत जनकपुरलाई पठाएको डिएनए रिपोर्टमा बच्चा र शिवराजको डिएनए ९९.९९९ प्रतिशत मिलेको रिपोर्ट आएको जाहेरीवाली निहारिकाकी वकिल रिंकु यादवले जानकारी दिइन् ।

शिवराजले नशालु पदार्थ पिलाएर बलात्कार गरेपछि गर्भ बसेको भन्दै निहारीकाले जाहेरी दिएकी थिइन् । तर शिवराजले भने ती बच्चा आफ्नो नरहेको दावी गर्दै आएका थिए । बच्चा शिवराजकै रहेको निहारीकाको दावीपछि उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले गएको भदौ ८ गते दुबैजनाको डिएनए परीक्षण गर्न आदेश दिएको थियो ।

त्यसपछि उच्च सरकारी वकिल कार्यालय जनकपुर मार्फत निहारिकाको रोहबरमा विधि विज्ञान प्रयोगशाला काठमाडौंमा डिएनए परीक्षण भएको थियो । जिल्ला अदालत धनुषाले पनि ०७८ माघ २४ गते जबरजस्ती करणी नभएको फैसला सुनाएको थियो । ०७६ माघ १९ गते ‘नारी अस्मिता रक्षा गरी जीवन रक्षा गरी पाऊँ’ र सोही वर्ष फागुन ११ गते ‘हक–अधिकार दिलाई पाऊँ’ भनी जिल्ला प्रहरी कार्यालय धनुषामा निहारिकाको नामबाट निवेदन परेको थियो ।

निवेदनमा निहारिका र शिवराजबीच श्रीमान–श्रीमतीको समबन्ध उल्लेख थियो । सोही आधारमा जिल्ला न्यायाधीश परशुराम भट्टराईले श्रेष्ठविरूद्ध जबरजस्ती करणीको अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएका थिए । जिल्ला अदालतको फैसलाबाट चित्त नबुझेको भन्दै निहारिकाले ०७८ फागुनमा उच्च अदालत जनकपुरमा पुनरावेदन गरेकी थिइन् । तर उच्च अदालत पनि प्रतिवादीसँग मिलेर पेसी नतोकेको र डिएनए जाँच गर्न समेत नभनेको भन्दै उनी काठमाडौंमा आमरण अनसन बसेकी थिइन् । दोस्रो पटक अनसनको क्रममा निहारिकाले राष्ट्रपति भवन अगाडि आत्मदाह गर्ने प्रयास गरेपछि फास्ट ट्रयाकमा मुद्दाको सुनुवाइ अघि बढाइएको थियो ।

डिएनए परीक्षणको रिपोर्ट नआएकाले निहारिकाको मुद्दामा पेशी चढ्न सकेको थिएन । जिल्ला प्रहरी, सरकारी, वकिल हुँदै उच्च अदालतमा डिएनए परीक्षणको रिपोर्ट आएको हो । शिवराज साधारण तारिखमा छन् । उनको कात्तिक २५ गते तारेख छ । चुनावपछि यो मुद्दाको पेशी चढ्ने उच्च अदालत जनकपुरका रजिष्टार खड्गराज अधिकारीले जानकारी दिए ।


Krishi Bikas Bank
franklin 1200*150