नविल बैंकले जन्मायो २५ उद्यमी
वि.सं.२०७९ मंसिर २५ आइतवार २०:१८
shares

काठमाडौं, २५ मंसिर । ललितपुरको सानेपामा रहेको क्यामपियन कलेजमा नविल एसइई– रिफ्लेक्सन एण्ड सेलिब्रेसन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नबिन बैंकले सञ्चालन गरेको २ हप्ता लामो उद्यमशीलता सम्बन्धी तालिममा सहभागी भएकाहरूलाई प्रमाणपत्र उपलब्ध गराएको हो ।

२५ प्रशिक्षार्थीहरूको सहभागिता रहेको उक्तको कार्यक्रममा प्रमुख अतिथिका रूपमा नबिन बैंकका उपाध्यक्ष निर्वाण चौधरी रहेका थिए । त्यस्तै कार्यक्रममा नबिन बैंकका डेपुटी सीईओ भूपेन्द्र पाण्डेको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै बैंकका डेपुटी सीईओ पाण्डेले यस किसिमको तालिमले देशमा उद्यमशीलताको विकास हुने र उद्योगीहरूको संख्या बढेर जाने बताएका छन् । उनले भने ‘यस तालिमबाट बागमती प्रदेशमा मात्रै २५ जना उद्योगीहरू जन्माएका छौँ भन्ने महसुस गरेको छु । हामीले यसरी नै ७ वटै प्रदेशमा काम गर्दै जाने हो भने देश भरिबाट ठुलो संख्यामा उद्यमीहरू जन्माउन सक्छौँ ।’

पाण्डेले यस्तो किसिमको तालिम लिएर प्रमाणपत्र बाँड्ने मात्र नभएर उद्यमीहरूको संख्या बढाउन सकिने विश्वास व्यक्त गरेका छन् ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै क्यामपियन कलेजकी प्रधानाध्यापक अनामिका श्रीवास्तवले बैंकिङ क्षेत्रसँग सहकार्य गर्दा खुसी लागेको जिकिर गरेकी छन् ।








