क्यान इन्फोटेकमा अवलोकनकर्ताको भिड, अनलाइनबाट टिकट काटे २५ रुपैयाँ मात्रै लाग्ने
वि.सं.२०७९ माघ २७ शुक्रवार १६:५०
shares

काठमाडौं, २७ माघ । काठमाडौंको भृकुटिमण्डपमा जारी सूचना प्रविधि मेला (क्यान इन्फोटेक) २०२३ मा अवलोकनकर्ताहरुको बाक्लो भिड लागेको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघको आयोजनामा जारी इन्फोटेकमा नयाँ प्रविधिको विषयमा जानकारी लिनका लागि आउनेहरुको भिड लागेको हो ।
माघ २४ गतेदेखि सुरु भएको मेलामा सूचना प्रविधिका विभिन्न स्टलहरु रहेका छन् । सबै जसो स्टलमा अबलोकनकर्ताको भिड देखिएको थियो । ललितपुरको बज्रबाराही स्कुलबाट मेला अबलोकन गर्न आएकी छात्रा सायरा महर्जनले यो इन्फोटेकबाट नयाँ नयाँ प्रविधिका विषयमा जानकारी दिएको बताइन । उनले सूचना प्रविधिको अध्ययनमा आफ्नो रुचि भएकाले त्यस विषयमा जानकारी लिएको बताइन् । अन्य सहभागिहरुले मेलाबाट सूचना प्रविधिका क्षेत्रमा भएका विकास र आईटी अध्ययनका विषयमा जानकारी लिएको बताएका छन् ।
त्यस्तै मेलामा आईएमी पे को स्टलमा आउने अवलोकनकर्ताहरुलाई एप डाउनलोड गर्नेदेखि चलाउने तरिका र स्कान गर्ने तरिका सिकाउने गरिएको आइएमी पे का निरज श्रेष्ठले जानकारी दिए । उनका अनुसार भिजा कार्डका विषयमा पनि अवलोकनतकर्ताहरुलाई जानकारी दिने गरिएको छ ।
‘आज शुक्रबार हो भोलि शनिबार सार्वजनिक बिदा हुने भएकाले अझ बढी भिड हुन्छ,’ उनले भने । त्यस्तै सीबीसि स्टलका बिजेन्द्र तुलाधरले ग्राहकहरुको पतिक्रिया निकै सकारात्मक रहेको बताए । ‘हामीले गेम पनि राखेका छौँ । हाम्रा विभिन्न प्याकेजका विषयमा पनि जानकी लिन आउनेहरु निकै छन्,’ उनले भने । त्यस्तै टेलिभिजनका विषयमा पनि बुझ्न र जानकारी लिन आउनेको निकै उत्साह देखिएको उनको भनाइ छ ।
करिब १ लाखले मेला अबलोकन गर्ने अनुमान गरिएको कम्प्युटर एसोशिएसन नेपाल महासंघका महासचिव चिरञ्जिवी अधिकारीले जानकारी दिए । ‘यो मेलामा ज्ञान दिनका लागि हो यसमा आएर तत्कालै सामान नै लिनु पर्छ भन्ने छैन,’ उनले भने ।
मेलामा प्रवेशका लागि १०० रुपैयाँ शुल्क तोकिएको छ भने विद्यार्थीको परिचयपत्र भएकाहरुलाई ५० रुपैयाँ शुल्क रहेको छ । यदि अनलाइनबाट टिकट खरिद गरेको खण्डमा भने २५ रुपैयाँ शुल्क मात्रै लाग्ने आयोजकले जानकारी दिएको छ । मेला यहि माघ २९ गतेसम्म जारी रहने छ ।








